वीरगन्ज। गत शनिबारदेखि उपचार सेवा ठप्प पारेर आन्दोलनमा रहेका वीरगन्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले सोमबार राति र मंगलबार दिउँसोसम्म अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्।
शनिबार आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्।
सोमबार साँझ पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सक र पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकबीच विवाद भएको थियो। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र एसपी दुवैले राजीनामा दिनुपर्ने अडान राखेपछि वार्ता तनावग्रस्त बनेको थियो।
वार्ता छाडेर बाहिरिन लागेका चिकित्सकलाई एसपी पाठकले धक्कामुक्का गर्दै दुर्व्यवहार गरेको आरोप चिकित्सकहरूको छ। सोही घटनापछि थप आक्रोशित बनेका चिकित्सकहरूले सामूहिक राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ।
चिकित्सकहरूको सामूहिक राजीनामासँगै नारायणी अस्पतालको उपचार सेवा थप प्रभावित हुने देखिएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्