कांग्रेस नियमित पक्षको समानान्तर महाधिवेशन खुलामञ्चमा, मंसिर २१ देखि २३ सम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १३, शुक्रबार १६:०५

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।


देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन आयोजना गर्ने तयारी गरेको हो। महाधिवेशनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डपसमेत प्रयोग गर्ने गरी काठमाडौं महानगरपालिकासँग अनुमति माग्दै पत्राचार गरिएको आयोजक समितिले जनाएको छ।


महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार महाधिवेशनको स्थान माग गर्दै महानगरपालिकामा पत्र पठाइएको थियो। महानगरपालिकाले महाधिवेशन आयोजनाका लागि अनुमति दिएको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिए।


आयोजकका अनुसार महाधिवेशनको उद्घाटन तथा बन्दसत्र खुलामञ्चमा हुनेछ। नयाँ नेतृत्व चयनका लागि हुने मतदान भने राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको छ। त्यस्तै प्रतिनिधिहरूको खानाका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिनेछ।
देउवा पक्षले हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशनहरू सञ्चालन गरिरहेको छ। आयोजकका अनुसार समानान्तर महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।


यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले पनि १५औँ महाधिवेशनका क्रममा खुलामञ्चमा उद्घाटन तथा कार्यक्रम आयोजना गरेको थियो। मतदानका लागि राष्ट्रिय सभागृह र खानाका लागि भृकुटीमण्डप प्रयोग गरिएको थियो।
महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *