नुवाकोट । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरले नुवाकोटको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। जिल्ला कार्यसमितिले आगामी २०८३ कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने गरी यसअघि तय गरेको थियो।
जिल्ला अन्तर्गतका केही पालिकाहरूको अधिवेशन विभिन्न कारणले सम्पन्न हुन बाँकी रहेकाले पूर्वनिर्धारित मितिमा जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भव नदेखिएपछि अधिवेशन स्थगित गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
जिल्ला संयोजक श्रीराम श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि कात्तिक १५ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको उल्लेख छ।
विज्ञप्तिमा पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक मर्यादालाई आत्मसात् गर्दै सबै तहका अधिवेशनहरू व्यवस्थित, निष्पक्ष र सहमतिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।
अधिवेशन सम्पन्न हुन बाँकी रहेका पालिकाहरूको अधिवेशन प्रक्रिया पूरा गरी जिल्ला अधिवेशनको नयाँ मिति यथाशीघ्र तय गरिने कांग्रेस नुवाकोटले जनाएको छ।
जिल्ला कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, क्षेत्रीय तथा पालिका कार्यसमिति, महाधिवेशन प्रतिनिधि एवं शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्र, एकता र संगठनात्मक सुदृढीकरणका लागि सबैको सहयोग र सकारात्मक भूमिकाको अपेक्षा गरेको छ।
नियमित पक्षले बिहीबार क्षेत्र नं २ काे अधिवेशन सम्पन्न गरिसकेको छ । १ मा भने अधिवेशन बाँकी रहेको बताएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्