शुल्क विवादबारे आधिकारिक धारणा सार्वजनिक गर्न नेविसंघ नुवाकोटको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १३, बुधबार १६:४६

नुवाकोट । नुवाकोटको शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न शुल्कका विषयमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रश्न उठेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटले सम्बन्धित शैक्षिक संस्थालाई आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।


बट्टारस्थित आदर्श बहुमुखी क्याम्पस तथा पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालित कक्षा, आदर्श बहुमुखी क्याम्पसमा सञ्चालित +२, स्नातक तथा स्नातकोत्तर तहको अध्ययनसँग सम्बन्धित परीक्षा शुल्क तथा अन्य सहयोग शुल्कका विषयमा पछिल्लो समय विभिन्न टिप्पणी, समाचार तथा जनचासो सार्वजनिक भइरहेका छन्।


उक्त विषयप्रति विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूबाट समेत चासो र प्रश्न उठेपछि नेविसंघ नुवाकोटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विषयको यथार्थ अवस्था बुझ्ने उद्देश्यले नेविसंघ नुवाकोटले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुखसँग टेलिफोनमार्फत आवश्यक जानकारी लिएको जनाएको छ।

सार्वजनिक रूपमा उठाइएका परीक्षा शुल्क तथा सहयोग शुल्कसम्बन्धी विषयमा सत्य–तथ्य, कानुनी अवस्था तथा वास्तविक विवरण सम्बन्धित शैक्षिक संस्थाबाटै आधिकारिक रूपमा सार्वजनिक हुनुपर्ने नेविसंघको धारणा छ।


नेविसंघ नुवाकोटले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा उठाइएका प्रश्न, जिज्ञासा र आशंकाको यथोचित सम्बोधन गर्दै सम्बन्धित विद्यालय, कलेज तथा क्याम्पस प्रशासनले तथ्यमा आधारित आधिकारिक धारणा तथा विवरण यथाशीघ्र सार्वजनिक गर्न अनुरोध गरेको छ।


त्यसबाट विद्यार्थी, अभिभावक तथा आम जनसमुदायमा देखिएको अन्योल अन्त्य हुने नेविसंघको विश्वास छ। विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाबीच पारदर्शिता, उत्तरदायित्व र विश्वासको वातावरण कायम रहोस् भन्ने पक्षमा नेविसंघ दृढ रहेको पनि अध्यक्ष रामकृष्ण भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *