काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक सकिएलगत्तै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृति दिएका विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक र राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेका छन्।
त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन–२०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन–२०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्न स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय भएको छ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को छैटौँ संशोधन नियमावली–२०८३ समेत स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्