काठमाडौं, साउन १८ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षित जनसमर्थन प्राप्त गर्न नसकेका विभिन्न मधेसवादी तथा क्षेत्रीय राजनीतिक दलहरूबीच कार्यगत एकता हुने भएको छ। ती दलहरूले आगामी साउन २३ गते काठमाडौंको थापा गाउँ, बानेश्वरस्थित काठमाडौं बैंक्वेटमा संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक जनार्दन शर्माका अनुसार जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी (नेपाल), नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी (नेपाल) लगायतका दलहरू मोर्चामा आबद्ध हुनेछन्।
शर्माले मधेस, थारू, आदिवासी, जनजाति, दलित, पिछडिएका समुदाय तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई थप सशक्त रूपमा स्थापित गर्न साझा एजेन्डाका साथ कार्यगत एकता गर्न लागिएको बताए। उनका अनुसार मोर्चाले संविधान कार्यान्वयन, संघीयता सुदृढीकरण, समावेशी प्रतिनिधित्व तथा पहिचानका मुद्दालाई प्राथमिकताका साथ उठाउनेछ।
मोर्चा घोषणासभामा सहभागी दलका शीर्ष नेताहरूको उपस्थिति रहने र आगामी राजनीतिक रणनीति, साझा कार्यक्रम तथा आन्दोलनका विषयमा पनि धारणा सार्वजनिक गरिने जनाइएको छ।
गत फागुन २१ को निर्वाचनमा यी अधिकांश दलले अपेक्षाअनुसार नतिजा हासिल गर्न नसकेपछि नयाँ राजनीतिक समीकरण र सहकार्यको आवश्यकता महसुस गर्दै संयुक्त मोर्चा निर्माणको प्रक्रिया अघि बढाएका हुन्। यसलाई आगामी राजनीतिक गतिविधि र मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरणको रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्