काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
देउवा समूहले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा नेता कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन्।
देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा यसअघि आयोजित विभिन्न बैठकमा सहभागी नभएका कोइराला राष्ट्रिय भेलामा भने सहभागी भएर सम्बोधन गर्न जाने भएका हुन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरिएको हो। पार्टीभित्र एकता र आगामी रणनीतिका विषयमा छलफल हुने भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
देउवा साउन २८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनको स्वदेश फिर्तीसँगै राष्ट्रिय भेलामा कांग्रेसका विभिन्न समूहका नेताहरूको सहभागिता र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्