नुवाकोट । मुलुकमा संघीयताको कार्यान्वयसँगै स्थापित तीन तहको सरकार मध्ये स्थानीय सरकार सिंगो देशका लागि प्रभावकारी बदै गएको छ । मुलुकको विकासका लागि मुख्य जग भनेको तल्लो तहको विकास हो । जसलाई स्थानीय सरकारले आफ्नो क्षेत्र र भुगोल अनुसारको मर्मलाई आत्मसाथ गरेर अघि बढाउन सकेको खण्डमा देशको प्रभावकारी विकास हुनसकछ भन्ने नुवाकोटकै एक पालिकाले देखाएको छ ।
जिल्लाको पञ्चकन्या गाउँपालिकाले बाँझो जनिमलाई प्रयोग गरेर उत्पादन गरेको स्थानीय अर्थोडक्स तथा अग्र्यानिक चियाको मूल्य बजारमा प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसबाट पुष्टि हुन्छ कि विकासका लागि उत्कृष्ट गुरु योजना आवश्यक छ भनेर । गाउँपालिको उक्त चिया गुणस्तर परीक्षणमा उत्कृष्ट ठहरिएपछि ‘घ्याङस्वारा अग्र्यानिक चिया’लाई व्यावसायिक रूपमा बजारमा लैजाने प्रक्रिया अघि बढेको छ । पालिकाको घ्याङस्वारामा वर्षौँदेखि बाँझो रहेको सार्वजनिक जग्गालाई कृषियोग्य बनाएर सुरु गरिएको चिया खेतीले उत्पादन दिन थालेपछि गाउँपालिकाले मूल्य निर्धारण गरेको अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत तयार गरेको ‘घ्याङस्वारा अग्र्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निर्धारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार चियाको मूल्य तोकिएको हो । निर्धारित मूल्यअनुसार ५०० ग्राम चियाको तीन हजार रुपैयाँ, २५० ग्रामको एक हजार पाँच सय रुपैयाँ, १०० ग्रामको ६ सय रुपैयाँ, ५० ग्रामको तीन सय रुपैयाँ र २५ ग्रामको एक सय ५० रुपैयाँ पर्नेछ । अध्यक्ष तामाङका अनुसार करिब तीन वर्षअघि रोपिएका चियाका बिरुवामध्ये १२ हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन् । उत्पादन सुरु भएसँगै चियालाई व्यावसायिक कारोबारमा जोडेर गाउँपालिकाको आम्दानीको स्रोत बनाउने लक्ष्य लिइएको उहाँको भनाई रहेको छ ।
घ्याङस्वारामा उत्पादन भएको चियाको पहिलोपटक गत चैतमा टिपिएको पात प्रशोधन गरी तयारी चिया उत्पादन गरिएको थियो । त्यसको सफल परीक्षणपछि बजारमा बिक्रीका लागि आवश्यक मूल्य निर्धारण, प्याकेजिङ, ब्रान्डिङ तथा कानुनी प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
घ्याङस्वारा चिया व्यवस्थापन समितिका सदस्यसचिव सरोजकुमार खातीका अनुसार कार्यविधिमा व्यवस्था भएबमोजिम समितिले प्रस्ताव गरेको शुल्क गाउँ कार्यपालिकाबाट पारित भएपछि मूल्य कार्यान्वयनमा आएको हो। उनका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स र अग्र्यानिक चियाको बजार मूल्यलाई आधार मान्दा गाउँपालिकाले तोकेको मूल्य प्रतिस्पर्धी र सहुलियतपूर्ण छ । गाउँपालिकाले गत वैशाखमै यहाँ उत्पादन भएको चियालाई ‘घ्याङस्वारा अग्र्यानिक चिया’ नामकरण गरी सार्वजनिक गरिसकेको छ। ट्रेडमार्क, अनुज्ञापत्रलगायतका कानुनी प्रक्रिया पूरा गर्दै उत्पादनलाई उपभोक्तासम्म पु¥याउने तयारी भइरहेको छ।
घ्याङस्वारामा करिब ३३२ रोपनी सार्वजनिक जग्गामा चिया खेती विस्तार गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको श्रमदानबाट यस क्षेत्रमा करिब ८३ हजार चियाका बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। केही वर्षअघिसम्म झारपातले ढाकिएको र उपयोगविहीन अवस्थामा रहेको सार्वजनिक जग्गालाई कृषियोग्य भूमिमा रूपान्तरण गरी चिया खेती सुरु गरिएको हो। उत्पादन भएका हरिया पातलाई तयारी चियामा रूपान्तरण गर्न ककनीस्थित चिया तथा कफी विकास कार्यालयले प्राविधिक तथा प्रशोधन सहयोग गरेको छ।
गाउँपालिकाले व्यावसायिक उत्पादन विस्तारसँगै स्थानीय किसानलाई अनुदानमा वितरण गर्ने उद्देश्यले थप ८४ हजार चियाका बिरुवा तयार गरेको छ । चिया खेती विस्तारबाट स्थानीयस्तरमै रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता बढाउन तथा क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने गाउँपालिकाको अपेक्षा छ । पञ्चकन्याको आफ्नो भुगोल अनुसार चियाबाट प्राप्त गरेको सफलता जस्तै अन्य पालिकाहरुले पनि सहि रुपमा आफ्नो भुगोलको प्रयोग गर्न सकेको खण्डमा गाउँको विकास धेरै टाढा देखिदैन भन्ने सन्देश पञ्चकन्याले दिन सफल भएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्