देशभर सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २७, बुधबार १६:०८


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने निर्णय गरेको छ।


कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
नयाँ मार्गदर्शन लागू भएपछि नागरिकले सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने झन्झट हट्नेछ। देशभरका सरकारी कार्यालयमा निवेदनका लागि एउटै निश्चित ढाँचा प्रयोग हुने व्यवस्था गरिनेछ।


यस व्यवस्थाले सरकारी सेवा लिन आउने नागरिकका लागि प्रक्रिया थप सरल, सहज र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै, निवेदनसम्बन्धी परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन तथा मोबाइल एपमा रूपान्तरण गर्ने आधारसमेत तयार हुने जनाइएको छ।


सरकारी सेवामा प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ल्याइएको यो व्यवस्थाले ‘डिजिटल नेपाल’को परिकल्पनालाई समेत थप बल पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *