नुवाकोट । विगत केही दिनदेखि हराइरहेका पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय पेमा नामग्याल लामाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। म्यागङ गाउँपालिका–२ स्थायी घर भई हाल विदुरमा बसोबास गर्दै आएका लामा साउन २४ गते दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।
विद्यालय बिदा रहेको समयमा घरबाट हराएका लामाको खोजी गर्ने क्रममा उनी त्रिशूली नदीमा पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएको तथ्य खुलेको थियो। केही दिनदेखि उनको खोजी जारी रहे पनि परिवारले उनको निधन भएको घोषणा गर्दै सांस्कृतिक परम्पराअनुसार मृत्युपश्चात गरिने कर्म प्रारम्भ गरेको जनाएको छ।
विद्यार्थी लामाको निधनको खबरले उनका परिवासहित अध्यय नरत विद्यालय पृथ्वी माध्यमिक विद्यालय परिवार शोकमा डुबेको छ। विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले विद्यालय परिवारले आफ्नो एक सदस्य गुमाउँदा अत्यन्त दुःखी र स्तब्ध भएको बताउनुभएको छ।
प्रधानाध्यापक लामिछानेले विद्यार्थी लामाको असामयिक निधनले विद्यालय परिवारलाई गहिरो पीडा पुगेको बताउँदै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई यस दुःखद् घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ।
पृथ्वी मावि परिवारले पनि दिवंगत विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्