देउवा आज स्वदेश फर्किँदै, स्वागत गर्न कांग्रेसका इतर समूहका ८ हजार भन्दा बढी नेता कार्यकर्ता विमानस्थल पुग्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २८, बिहीबार ०८:५२

काठमाडौं । स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्। विमानस्थल करिव ८ हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ ।


साउन २९ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुग्ने तयारी रहेको नेता मीन विश्वकर्माले जानकारी दिए।


विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे काठमाडौं आइपुग्नेछन्। उनलाई स्वागत गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।


देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन्।


नेपाल फर्किएपछि देउवा पार्टीका आन्तरिक गतिविधिमा सक्रिय हुने तयारीमा छन्। उनले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *