काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि करिब पाँच महिनापछि स्वदेश फर्किएका छन् । स्वदेश फर्किएलगत्तै देउवाले विज्ञप्ति जारी गर्दै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र पार्टी तथा मुलुकको हितमा योगदान गर्न फर्किएको बताएका छन्।
देउवाले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै आफू पाँच महिनापछि नेपाली जनतामाझ फर्किन पाउँदा भावुक भएको बताएका छन्।
उनले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उल्लेख गरेका छन्। बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै भुल्न नहुने उनको भनाइ छ।
देउवाले पछिल्लो पुस्ताले माग गरेको परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले उल्लेख गरेका छन्।
‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रो पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन,’ देउवाले भनेका छन्, ‘केही कमी–कमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक छ।’
वर्तमान सरकारप्रति संकेत गर्दै देउवाले जनतामा देखिएको परिवर्तनको ठूलो आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन्। ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतको कदर गर्नुपर्ने भन्दै उनले राजनीतिक आग्रह–पूर्वाग्रहबाट अघि बढ्नु सरकार र मुलुक दुवैका लागि हितकर नहुने बताएका छन्।
उनले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै यसको संरक्षण र संशोधन गर्दा राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ।
कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने भन्दै देउवाले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई सामूहिकतामा विश्वास गर्दै अघि बढ्न अपिल गरेका छन्। ‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उनले भनेका छन्।
युवा पुस्तालाई अघि बढ्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा भ्युजको पछाडि लागेर पाका र अनुभवी सबै खराब हुन् भन्ने भाष्य निर्माण नगर्न पनि कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। आफ्नो विगतको राजनीतिक अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्ने र त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले बताएका छन्।
देउवाले आफ्नो नेतृत्वमा विगतमा माओवादी सशस्त्र द्वन्द्वदेखि विभिन्न जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्रका विवादमा मिलाप गराएको अनुभव रहेको उल्लेख गर्दै आगामी दिनमा त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको स्पष्ट पारेका छन्। बीपी कोइराला २०३३ सालमा भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने उद्घोष गरेको स्मरण गर्दै देउवाले अहिले पनि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता रहेको बताएका छन्।
‘विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ, प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ देउवाले अपिल गरेका छन्।
आफूमाथि हुने आलोचना र आलोचनाबीच पनि आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै देउवाले आफ्नो जीवन ‘खुला किताब’ भएको बताएका छन्। जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र जनताको सर्वोत्तम हितका लागि काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु—विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ देउवाले विज्ञप्तिको अन्त्यमा भनेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्