पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २८, बिहीबार १७:३७



काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ तथा उहाँको निवास र पत्रिकाको कार्यालयमा गरिएको खानतलासीप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गम्भीर आपत्ति जनाएको छ।

पार्टीको प्रचार विभागका प्रमुख रजमान तामाङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाउनु, सरकारका गलत निर्णयको आलोचना गर्नु तथा जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार भएको बताएका छन्।


विज्ञप्तिमा आलोचनात्मक आवाज नियन्त्रण गर्ने, पत्रकारलाई पक्राउ गर्ने वा राज्यशक्तिको भय देखाएर प्रेसलाई मौन बनाउने कुनै पनि प्रयास लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यतामाथिको सीधा प्रहार भएको उल्लेख गरिएको छ।


पत्रकार श्रेष्ठले पत्रकारितामार्फत उठाउँदै आएका प्रश्नसँग असहमति भए त्यसको जवाफ तथ्य, तर्क र सार्वजनिक बहसबाट दिनुपर्ने भन्दै पार्टीले पत्रकारलाई पक्राउ गरेर प्रश्नको आवाज बन्द गर्ने प्रयास कुनै पनि लोकतान्त्रिक सरकारका लागि स्वीकार्य हुन नसक्ने जनाएको छ।


‘सरकारको आलोचना अपराध होइन, प्रेसलाई नियन्त्रण गर्ने प्रयासचाहिँ लोकतन्त्रका लागि गम्भीर खतरा हो,’ विज्ञप्तिमा भनिएको छ। पार्टीले राज्यसत्ताले आफूविरुद्ध उठेका आवाज सुन्न सक्नुपर्ने भन्दै आलोचना सहन नसक्ने सत्ता क्रमशः निरंकुशतातर्फ जाने खतरा रहने चेतावनीसमेत दिएको छ।


प्रगतिशील लोकतान्त्रिक पार्टीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न तथा सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गरेको छ।
साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघ, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल तथा लोकतन्त्रप्रति प्रतिबद्ध सम्पूर्ण शक्तिहरूलाई एकजुट भएर आवाज उठाउन पार्टीले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *