देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन, कांग्रेस एकता अपरिहार्य: डा महत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २९, शुक्रबार १८:३१



काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता प्रकाशशरण महतले पार्टीभित्रको विवाद अन्त्य गर्दै एकता कायम गर्नु अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता महतले विगतका मतभेदलाई बिर्सिएर पार्टी एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र समझदारी कायम गर्न अधिकारसम्पन्न ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे ।


‘समझदारीको बटमलाइन सजिलो थियो । अधिकारसम्पन्न स्टेरिङ कमिटी बनाऔँ,’ महतले भने । उनले नेपाली कांग्रेससँग आधिकारिकता भए पनि पार्टीको आत्मा नरहेको अवस्था देखिएको टिप्पणी गरे । आधिकारिक संरचना मात्रै भएर नहुने भन्दै उनले आत्मासहितको कांग्रेस निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।


‘आधिकारिकता रहेको ठाउँमा आत्मा छैन, शरीर मात्रै छ । आत्मासहितको नेपाली कांग्रेस आवश्यक छ,’ महतले भने, ‘अब कांग्रेसलाई जोड्नैपर्ने अवस्था आएको छ ।’


नेता महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्नेमा पनि जोड दिए । उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई नै आधार बनाएर सहमतिको वातावरण बनाउन सकिने धारणा राखे ।
‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा सबै साथीहरू हुनुहुन्छ । कोही थप्न परे थपौँला, तर १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्दा सहमति गर्न सकिन्छ,’ उनले भने ।


महतको भनाइले कांग्रेसभित्र देखिएको संस्थापन र संस्थापनइतर पक्षबीचको विवाद समाधानका लागि देउवाको नेतृत्वलाई निरन्तरता दिँदै महाधिवेशनतर्फ अघि बढ्ने विकल्पलाई प्राथमिकता दिएको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *