नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रथम मेयर तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको निधन भएको छ।फोक्सोसँग सम्बन्धित गम्भीर स्वास्थ्य समस्याबाट पीडित खनालको उपचारका क्रममा आज साउन ३१ गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
खनाल केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो। भारतमा करिब चार महिना उपचार गराएर नेपाल फर्किनुभएका उहाँलाई स्वास्थ्यमा पुनः समस्या देखिएपछि केही दिनअघि काठमाडौंस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको उहाँका भाइ रमेश खनालले जानकारी दिनुभयो।
बेलकोटगढी नगरपालिका स्थापना भएपछि पहिलो मेयर बन्नुभएका खनालले नगरपालिकाको संस्थागत विकास तथा प्रारम्भिक पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। स्थानीय तहको विकास र नगरपालिकाको प्रारम्भिक संरचना निर्माणमा उहाँको योगदानलाई महत्वपूर्ण रूपमा लिइन्छ।
खनालको निधनले नेकपा एमाले नुवाकोटसहित बेलकोटगढीका स्थानीयवासी तथा शुभेच्छुकहरूमा दुःख पुगेको छ। उहाँको निधनप्रति पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्