काठमाडौं । नेपाली कांग्रेस इतरसमूहको भेलामा ‘हिन्दु’ शब्दावलीका कारण नेताहरुबीच कागज खोसाखोस भएको छ ।
इतरसमूहले राष्ट्रिय भेला समापनका क्रममा विवाद देखिएको हो । समापनका क्रममा घोषणापत्र जारी गर्ने तयारी हुँदै गर्दा कांग्रेसमा ‘सनातन हिन्दु राष्ट्र अभियान’को नेतृत्व गरिरहेका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मको बारेमा धारणा राख्न भनेका थिए ।
सोहीअनुसार निष्कर्षमा पनि सनातन हिन्दु राष्ट्रका सम्बन्धमा निर्णय भएको नेताहरुको टिप्पणी छ ।
नेता डा. प्रकाशरण महतलाई भण्डारीले गरेको आग्रह र देउवाको सम्बोधनपछि ‘हिन्दु राष्ट्र’को विषय समेट्न सहमति जनाएपछि नेता विमलेन्द्र निधि आसनबाटै उठेर हस्तक्षेप गरेका थिए ।
उनले नेपालको संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान विपरीतका कुनै पनि विषय नघुसाउन आग्रह गरेका हुन् ।
निधिले डा. महतलाई ‘म केही कुरा राख्छु हट्नुस्’ भनेपछि महत रिसाएका थिए । त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । पाँचबुँदे प्रस्तावमा भने सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने भनिएको छ ।
पाँचबुँदे प्रस्तावको तेस्रो बुँदामा ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो’ भनिएको छ ।
-1786870320.jpg)
प्रस्तावमा भनिएको छ, “नेपालमा रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सदियौँदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।”
निधिले प्रस्ताव सच्याउन प्रयास गरेपछि प्रस्ताव संविधान विपरीत नभएको भन्दै हट्नका लागि महतसँगै नेता शंकर भण्डारी, नेता दिपक कुँइकेल र वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठले निधिलाई सिटमै पुर्याएका थिए ।
यसलाई सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गारिरहेका नेता शंकर भण्डारीले ऐतिहासिक कदम भनेका छन् ।
उनले कांग्रेसले सनातन हिन्दु राष्ट्र बनाउने प्रस्ताव पारित भएको भन्दै प्रत्येक नेपालीलाई बधाईका हकदार भनेका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्