गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क तोकियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २, मंगलवार ०९:४८



रसुवा । जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड दर्शन तथा मेला भर्न जाने तीर्थयात्रीलाई सहज हुने गरी रसुवामा पदमार्गमा सञ्चालित होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा स्थानीय व्यवसायी तथा सरोकारवालासहितको सहभागितामा चिया, नास्ता, खाना र आवासको शुल्क निर्धारण गरिएको हो। तीर्थयात्रीबाट मनपरी शुल्क असुली हुन नदिन गत वर्षकै आधारमा यस वर्ष पनि दर कायम गरिएको प्रशासनले जनाएको छ।


निर्धारित दरअनुसार धुन्चे–घट्टेखोला क्षेत्र आसपासमा एक कप चियाको मूल्य रु. ३० देखि गोसाइँकुण्डमा रु. ८५ सम्म तोकिएको छ। यस्तै, दालभात–तरकारीको मूल्य रु. २७५ देखि रु. ६०० सम्म र आवासका लागि रु. ३०० देखि रु. ६०० सम्म शुल्क निर्धारण गरिएको छ।


बजार अनुगमन समितिका संयोजक तथा रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले तोकिएको दरभन्दा बढी शुल्क लिन नपाइने र होटल तथा लजले ग्राहकले स्पष्ट रूपमा देख्ने स्थानमा सेवा शुल्कको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।


तीर्थयात्रीसँग तोकिएकोभन्दा बढी रकम असुल गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ। अधिकारीले गोसाइँकुण्ड मेलामा आउने यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका आवश्यक तयारी पूरा गरिएको बताए।


वर्षायाम भएकाले गोसाइँकुण्ड यात्रामा निस्कँदा मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।


यस वर्ष जनैपूर्णिमाको अवसरमा १० हजारभन्दा बढी तीर्थयात्री गोसाइँकुण्ड आउने अनुमान गरिएको धुन्चेस्थित बौद्ध धर्मगुरु लामा रेञ्जन घलेले बताए।


संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र निजी क्षेत्रको समन्वय तथा सहकार्यमा तीर्थयात्रीलाई सहज र राहत पुग्ने गरी आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *