कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म, भदौ २४ गते वडा अधिवेशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २, मंगलवार १९:४२



काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।


कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ। निर्वाचन समितिले महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको मिति तय गरेको हो। सार्वजनिक कार्यतालिकाअनुसार निर्वाचन प्रतिनिधिलाई भदौ २ गतेदेखि १० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिर अभिमुखीकरण तालिम दिइनेछ।


त्यसपछि भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइने, भदौ १५ गते वडा निर्वाचन प्रतिनिधि खटाउने तथा भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ। बाँकी नेपाली जनसम्पर्क समितिको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका छ।


कांग्रेसले भदौ २४ गते ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने जनाएको छ। त्यसपछि भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने छ।


प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज ३ गते हुनेछ। उक्त अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गरिनेछ।


त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। अन्तिममा असोज १६, १७, १८ र १९ गते काठमाडौंमा नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।


यसअघि सार्वजनिक गरिएको कार्यतालिकामा पनि १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको थियो। पछिल्लो कार्यतालिकाले तल्ला तहका निर्वाचन प्रक्रिया अघि बढाउने मिति तथा निर्वाचन समितिको जिम्मेवारीलाई थप स्पष्ट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *