काठमाडौं । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक तथा तलब वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभाग, योजना तथा कार्यक्रम शाखाले भदौ ५ गते पत्र जारी गर्दै मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार बढाइएको पारिश्रमिक तथा तलब कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको हो।
निर्णयअनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरी निकासा दिनुपर्नेछ। यसअनुसार ईसीडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार तथा लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुग्नेछ।
त्यस्तै, संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत माध्यमिक तह (कक्षा ९–१०) का शिक्षकको तलब माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब बराबर तथा आधारभूत तह (कक्षा ६–८) का शिक्षकको तलब निम्न माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब बराबर कायम गरी निकासा दिन भनिएको छ। सरकारले संघीय शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो।
शिक्षा विभागले उक्त निर्णयअनुसार सम्बन्धित शिक्षक तथा कर्मचारीले पाउने बढेको पारिश्रमिक स्थानीय तहबाट कार्यान्वयन गरी निकासा दिन आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्