महाविपत्तिमा दुप्चेश्वर धामको साथ : राहत तथा उद्धारका लागि सरकारलाई ५ लाख सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १२, शुक्रबार १४:३४

नुवाकोट । देशभर बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भइरहेका बेला नुवाकोटको दुप्चेश्वर क्षेत्र विकास कोषले राहत तथा उद्धार कार्यका लागि नेपाल सरकारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोष (दुप्चेश्वर धाम) का कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार विपत्तिमा परेका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको नाममा जम्मा गर्ने निर्णय गरिएको हो।


कोषले दुप्चेश्वर महादेवको पवित्र भूमिबाट गरिएको यो सहयोगलाई आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नागरिकप्रतिको मानवीय कर्तव्य, करुणा र ऐक्यबद्धताको प्रतीकका रूपमा लिएको जनाएको छ।


कोषले देशभर विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न राज्यसँगै समाजका हरेक जिम्मेवार व्यक्ति तथा संस्थाले आफ्नो क्षमता र सामर्थ्यअनुसार योगदान गर्नुपर्नेमा जोड दिएको छ।


यसैगरी, बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कोषले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बेपत्ताको शीघ्र खोज तथा उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवार सुरक्षित जीवनमा फर्कन सकून् भन्ने कामनासमेत गरेको छ।


‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो, दुःखमा साथ दिनु नै सच्चा धर्म र पुण्य हो’ भन्ने भावनासहित विपत्तिको यो कठिन घडीमा सबै एकजुट भई पीडितको साथ दिन कोषले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *