रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा संघीय सरकारको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नसकिएको गुनासो गरेका छन्।
बाढीबाट सर्वनाश भएको क्षेत्रमै रहेका अध्यक्ष अर्यालले सामाजिक सञ्जालमार्फत आफ्नो क्षेत्रको अवस्था सार्वजनिक गर्दै उद्धार, राहत र उपचारमा राज्यको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका चार कर्मचारी अझै बेपत्ता छन् भने सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको छ। कार्यपालिका सदस्य ज्ञानु बिकसहित केही शिक्षक तथा ठूलो संख्यामा स्थानीय, जलविद्युत आयोजनाका कर्मचारी तथा कामदार र यात्रुहरू सम्पर्कविहीन रहेको उनले उल्लेख गरेका छन्।
टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो मानवीय क्षति भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा समेत अकल्पनीय क्षति भएको अध्यक्ष अर्यालको भनाइ छ। सडक सम्पर्क पूर्णरूपमा विच्छेद हुँदा उद्धार तथा राहत प्रभावित भएको र विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित भएको उनले बताएका छन्।
मरणासन्न अवस्थामा रहेका घाइतेलाई उद्धार गर्न हेलिकप्टरको प्रतीक्षा गर्दा समेत समयमा उद्धार हुन नसकेको उल्लेख गर्दै अध्यक्ष अर्यालले घाइतेलाई कालिकास्थान–जिवजिवे हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको बताए।
उनले नदी किनारमा ठूलो संख्यामा शवहरू रहेको र शवहरू कुहिन थालेपछि आसपासका बस्तीमा दुर्गन्ध फैलिएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। साथै, सुरक्षाकर्मीसमेत ठूलो संख्यामा बेपत्ता भएको र बाँकी सुरक्षाकर्मी खाना–पानीको अभावमा काम गरिरहेको उनले बताएका छन्।
अध्यक्ष अर्यालले आफ्नो क्षेत्रका करिब ३५० जना प्रभावितलाई निलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको जानकारी दिएका छन्। कालिका र नौकुण्ड गाउँपालिकाबाट प्राप्त खाद्यान्नले थप तीन दिन धान्ने अवस्था रहेको भए पनि विद्यालयको भुइँमा कालो म्याट्रेसमा रात बिताउनुपर्ने अवस्था रहेको उनले बताएका छन्।
नियमित औषधि सेवन गर्ने बिरामी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि विशेष सहयोग आवश्यक भए पनि पर्याप्त व्यवस्था गर्न नसकिएको उनको गुनासो छ।
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै मानिस फसेको सूचना आएको भन्दै अध्यक्ष अर्यालले उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित आवास र खाद्यान्नको व्यवस्था गर्न माग गरेका छन्। त्रिशूली नदीको वारि–पारि फसेका तथा परिवारबाट छुट्टिएका नागरिकलाई समेत तत्काल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने उनको भनाइ छ।
अध्यक्ष अर्यालले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि प्रभावित नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
गृह मन्त्रालयको सचिवालयबाट आफूलाई फोन गरी ‘नकारात्मक प्रचार नगर्न’ र ‘राजनीति नगर्न’ आग्रह गरिएको प्रसंग उल्लेख गर्दै उनले आफूहरूले यस्तो आवाज उठाउन नपर्ने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।
उनले आफू आबद्ध नेकपा एमालेका नेताहरूबाट समेत पर्याप्त खोजी तथा समन्वय नभएको गुनासो गरेका छन्। केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टले मात्र आफ्नो अवस्थाबारे चासो लिएको बताउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायत देशभरका नेता तथा सहयोद्धाहरूले चासो व्यक्त गरेको उल्लेख गरेका छन्।
‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ, मैदानमा नै जनताले अनुभूति गर्नेगरी काम गरौँ,’ अध्यक्ष अर्यालले भनेका छन्।
उनका अनुसार घरबारविहीन, सम्पर्कविहीन, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्याङ्क संकलन भइरहेको छ। प्रमुख जिल्ला अधिकारीसँग समेत सम्पर्क भइसकेको र स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल आवश्यक काम सुरु हुने विश्वास उनले व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्