‘अदालत सेटिङ’को प्रचारप्रति कांग्रेस नेता खड्काको आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ९, मंगलवार १५:५८

काठमाडौं — नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीको आन्तरिक जीवनमा भएका अन्यायपूर्ण घटनामा न्याय खोज्न आफू सर्वोच्च अदालत पुगेको स्पष्ट पारेका छन्।

खड्काले सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशको माग गर्दै अन्तरकालीन आदेशसमेत माग गरी मुद्दा दर्ता गराएको उल्लेख गर्दै आफूले न्यायको सर्वव्यापी सिद्धान्त ‘Justice for All’ लाई आत्मसात् गर्दै न्यायिक बाटो रोजेको बताएका छन्।

तर, आफूले अदालतको ढोका ढक्ढकाएपछि केही व्यक्ति तथा समूहले नियोजित रूपमा ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो नामसमेत जोडेर प्रचार गरिरहेको भन्दै उनले आपत्ति जनाएका छन्।

‘अदालत सेटिङ’ जस्तो प्रचारले स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास पैदा गर्ने र अदालतको गरिमा घटाउने उद्देश्य राखेको उनको आरोप छ। यस्तो कुप्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खड्काले योजनाबद्ध रूपमा भइरहेको प्रचारप्रति खेदसमेत व्यक्त गरेका छन्।

उनले जिम्मेवार सञ्चारमाध्यमलाई समेत यस्ता विषयमा सचेत रहन आग्रह गरेका छन्।

खड्काले आफू न्याय र स्वतन्त्रताका लागि लडेको सिपाही भएको उल्लेख गर्दै सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा रहेको बताएका छन्। सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ।

खड्काले सर्वोच्चमा दायर गरेको निवेदनको दर्ता नम्बर ०८३-FN-०३२३ रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *