नुवाकोट । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीले विद्यालयका भौतिक संरचनामा व्यापक क्षति गरे पनि पूर्वसतर्कताका कारण विद्यालयभित्र ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताएका छन्।
दवाडीका अनुसार बिहान करिब ९ः१५ बजे आएको बाढी विद्यालय क्षेत्रमा प्रवेश गर्नुअघि नै त्यहाँ रहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाइएको थियो। विद्यालयबाट विद्यार्थीलाई बाहिर निकालेर माथिल्लो डाँडातर्फ जान भनिएको उनले बताए।
उनका अनुसार बाढी पस्ने समयमा विद्यालयभित्र विद्यार्थी थिएनन्। आफू र शिक्षक प्रदीप पण्डित विद्यालयबाट अन्तिममा बाहिरिएको उनले जानकारी दिए। विद्यालयबाट बाहिरिएपछि विद्यार्थीहरू विभिन्न दिशामा गएको र उनीहरूको अवस्था तथा स्थानबारे तत्काल यकिन हुन नसकेको दवाडीले बताए।
विद्यालयसँगै रहेको महिला छात्रावासमा करिब ३० जना छात्रा बस्दै आएका थिए। बाढीले छात्रावास क्षेत्रमा समेत क्षति पुर्याए पनि त्यहाँ रहेका सबै छात्रालाई समयमै सुरक्षित स्थानमा सारिएको विद्यालयले जनाएको छ।
बाढीपछि केही शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना त्रिशूली बजार आसपासको माथिल्लो सुरक्षित क्षेत्रमा रहेको दवाडीले बताए। त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा आफन्तसँग सम्पर्क गर्न कठिनाइ भइरहेको छ।
विद्यालयका विद्यार्थी बाढीमा बगेको भन्ने खबर गलत भएको स्पष्ट पार्दै दवाडीले विद्यालयबाट बाहिरिँदा परिसरमा कुनै विद्यार्थी नरहेको बताए। केही अभिभावकले आफ्ना बालबालिका सम्पर्कविहीन भएको भन्दै जानकारी मागिरहेको तथा केहीले भने बालबालिका घर पुगिसकेको जानकारी दिएको उनले बताए।
बाढीले विद्यालय भवन तथा अन्य संरचनामा ठूलो क्षति पुर्याए पनि विद्यालयका तीनवटा बस भने सुरक्षित रहेको जनाइएको छ।
विद्यालय आसपासको त्रिशूली बजार क्षेत्र र बस्तीमा समेत बाढीले व्यापक क्षति पुर्याएको छ। स्थानीय क्षेत्रमा मानिसहरू घरभित्रै फसेको तथा मानवीय क्षतिसमेत भएको जानकारी आएको दवाडीले बताए। सञ्चार तथा सडक सम्पर्क प्रभावित भएकाले क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन।
कक्षा १२ सम्म सञ्चालन हुँदै आएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा हाल १ हजार ६४३ विद्यार्थी अध्ययनरत छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्