धादिङ । धादिङबाट रसुवाको गोसाइँकुण्ड गएका २८ जना बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरे नाकामा चीनको तिब्बततर्फबाट आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माका अनुसार सम्पर्कविहीन हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ९ र १२ तथा सिद्धलेक गाउँपालिका–१ का स्थानीय छन्। उनीहरू धादिङबाट गाडी रिजर्भ गरी गोसाइँकुण्डतर्फ गएको बताइएको छ।
उपमेयर विश्वकर्माका अनुसार नीलकण्ठ–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सम्पर्कविहीन छन्।
त्यस्तै नीलकण्ठ–९ का राम लम्साल, राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल सम्पर्कविहीन रहेको बताइएको छ।
नीलकण्ठ–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिमिल्सिना तथा सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट पनि सम्पर्कविहीन छन्।
उनीहरूसँग सम्पर्क स्थापित गर्न प्रशासनसँगको समन्वयमा प्रयास भइरहेको उपमेयर विश्वकर्माले जानकारी दिए। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि धादिङ बजार क्षेत्रबाट गोसाइँकुण्ड गएकाहरू सम्पर्कमा नआएको पुष्टि गरेका छन्। उनका अनुसार एउटा गाडीमा २०–२२ जनाभन्दा बढी मानिस गएको सूचना प्राप्त भएको छ।
यसैगरी उनीहरूलाई लिएर गएको बसका चालक नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन यात्रुहरूको अवस्था पत्ता लगाउन स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्