नुवाकोटमा राहतका नाममा पुराना कपडा नल्याउन प्रशासनको आग्रह,स्थानीय भन्छन् ,बैक कार्यालय सञ्चालन गरेर अब अवस्था सामान्य बनाउन लागाैँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १०:००

नुवाकोट । बाढी–पहिरोबाट प्रभावित नुवाकोटका नागरिकका लागि देश–विदेशबाट राहत तथा सहयोग आउने क्रम जारी छ। विपद्को कठिन घडीमा सरकारी तथा गैरसरकारी संघ–संस्था, कलाकार, सेलिब्रेटी, व्यवसायी, नागरिक समाज, राजनीतिक दल तथा सर्वसाधारणले मानवीय भावनाका साथ सहयोग गरिरहेका छन्।


तर, पछिल्लो समय राहतका नाममा आफैंले प्रयोग गरेका पुराना तथा प्रयोग गर्न नमिल्ने कपडासमेत पठाउने क्रम देखिन थालेपछि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले त्यस्ता सामग्री नपठाउन सार्वजनिक रूपमा आग्रह गरेको छ।


पीडित नागरिकको सम्मान र आवश्यकतालाई ध्यानमा राख्दै प्रयोग गरिसकेका, फाटेका, मैला वा अनुपयुक्त कपडालाई प्याकेट बनाएर राहतका रूपमा नपठाउन प्रशासनले आग्रह गरेको हो। राहत भनेको आफूलाई नचाहिएको वा प्रयोग गर्न नमिल्ने सामान पन्छाउने माध्यम नभई संकटमा परेका नागरिकलाई सम्मानपूर्वक सहयोग गर्ने मानवीय दायित्व भएको प्रशासनको भनाइ छ।


प्रशासनले त्यस्ता पुराना तथा अनुपयुक्त सामग्री स्वीकार नगर्ने र वितरणसमेत नगर्ने स्पष्ट पारेको छ। त्यस्ता सामग्री आएमा सम्बन्धित सहयोगदाताकै जिम्मेवारीमा फिर्ता पठाइने जनाइएको छ।


यसैबीच सरकारले राहत वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणालीमार्फत राहत व्यवस्थापन तथा वितरण गरिरहेको छ। नेपाली सेनाको ब्यारेकमार्फत राहत सामग्री व्यवस्थापन भइरहेको अवस्थामा वास्तविक रूपमा आवश्यक परेका तथा पहुँचबाट टाढा रहेका बस्तीलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।


विदुर, ढुंगे लगायतका क्षेत्रमा राहतको पहिलो चरण धेरै हदसम्म पूरा भइसकेकाले अब राहतसँगै सडक, पुल, सञ्चार, विद्युत्, शव व्यवस्थापन तथा अत्यावश्यक सेवा पुनःस्थापनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। बैंक तथा कार्यालयहरू सुरक्षित रूपमा सञ्चालनमा ल्याएर जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउनसमेत सरोकारवालाले आग्रह गरेका छन्।
विशेषगरी रसुवा र नुवाकोटका त्रिशूलीपारिका तथा सडक सम्पर्कबाट प्रभावित क्षेत्रमा राहत केन्द्रित गर्नुपर्ने सुझाव आएको छ। सहज पहुँच भएका स्थानमा राहत दोहोरिन सक्ने भएकाले वास्तविक रूपमा सहयोग नपुगेका परिवार र बस्ती पहिचान गरी त्यहाँ राहत पुर्‍याउनुपर्नेमा जोड दिइएको छ।


सम्पर्कविहीन तथा बेपत्ता नागरिकको खोजी कार्यलाई निरन्तरता दिँदै अन्य अधिकांश प्रभावित परिवारका सदस्य तथा आफन्तहरू सुरक्षित स्थानमा पुगिसकेकाले अब उनीहरूलाई विपत्तिबाट बाहिर निस्केर आफ्नो घर, व्यवसाय र दैनिक जीवन पुनःस्थापित गर्न सहयोग गर्ने वातावरण बनाउनुपर्ने देखिएको छ।


विपत्तिको समयमा देश–विदेशबाट प्राप्त भइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रशासनले सहयोगलाई निरन्तरता दिन, तर राहतका नाममा पुराना र अनुपयुक्त कपडा होइन, पीडितलाई वास्तवमै आवश्यक पर्ने गुणस्तरीय सामग्री मात्र पठाउन आग्रह गरेको छ।


विपत्तिले दिएको पीडा गहिरो छ, तर यही कठिन समयमा देखिएको मानवीय एकता र सहयोगले नुवाकोटवासीलाई पुनःउठ्ने हौसला दिएको छ। अब राहतसँगै पुनःनिर्माण र जनजीवन सामान्य बनाउने अभियानलाई पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *