भोटेकोशी बाढीपीडितका लागि दृष्टि आई केयर सिस्टमको १६ लाख १ हजार सहयोग, निःशुल्क आँखा उपचार पनि गरिने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार ११:३७


काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले १६ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।


संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ सहयोग गर्न लागिएको हो।


बाढीपहिरोबाट प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै संस्थाले आर्थिक सहयोगसँगै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा समेत सुरु गरेको जनाएको छ।


डा. श्रेष्ठका अनुसार प्रभावित नागरिकलाई लक्षित गरी संस्थाका विभिन्न शाखामार्फत निःशुल्क आँखा परीक्षण तथा आवश्यक उपचार सेवा उपलब्ध गराइनेछ।


यो सेवा काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर, धादिङको गल्छी सामुदायिक आँखा उपचार केन्द्र र नुवाकोटको बट्टारस्थित दृष्टि आई केयरबाट लिन सकिनेछ।


बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै स्वास्थ्य सेवा आवश्यक रहेको भन्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग तथा निःशुल्क स्वास्थ्य सेवा अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *