बाढीपीडितको सेवामा गायक दुर्गेश थापा समूह, दुई दिनदेखि कोलनीमा आफैं खाना पकाउँदै खुवाउँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १४:०३


नुवाकोट । बाढीपहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिन नुवाकोटमा पछिल्ला दुई–तीन दिनदेखि विभिन्न व्यक्ति, कलाकार, संघसंस्था तथा स्वयंसेवी समूहहरू मानवीय भावनासहित राहत तथा सहयोगमा सक्रिय भएका छन्।


चर्चित गायक दुर्गेश थापा नेतृत्वको समूह पनि बाढी प्रभावितको सेवामा निरन्तर खटिएको छ। समूह विगत दुई दिनदेखि विदुर नगरपालिका–८, कोलनीमा बसेर स्थानीयसँगको सहकार्यमा आफैं खाना तयार गरी बाढीबाट प्रभावित परिवारलाई खाना खुवाउँदै आएको छ।


समूहले विशेषगरी बाढीबाट प्रभावित बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै भदौ ११ गते नै लत्ताकपडा, सिरक तथा ब्ल्याङ्केटसमेत सहयोग गरेको जनाएको छ।


बाढीका कारण घरबार तथा दैनिक जीवनमा समस्या भोगिरहेका परिवारलाई ठूलो आर्थिक सहयोग गर्न नसके पनि संकटको समयमा भोकाएकालाई एक छाक खाना खुवाउन सक्नु पनि महत्वपूर्ण सेवा भएको समूहको भनाइ छ।


दुर्गेश थापा समूहले विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता भएको भन्दै आफूहरूले सकेको सानो प्रयासबाट प्रभावित नागरिकको अनुहारमा केहीबेर भए पनि मुस्कान ल्याउन सके त्यसलाई नै ठूलो खुसीका रूपमा लिएको जनाएको छ।


नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा अहिले स्थानीय युवादेखि कलाकार, व्यवसायी, नागरिक समाज, संघसंस्था तथा स्वयंसेवी समूहसम्म राहत र मानवीय सेवामा जुटिरहेका छन्। विपत्तिको कठिन समयमा सहयोगी हातहरू सक्रिय हुन थालेपछि प्रभावित परिवारलाई राहतसँगै मनोबलसमेत मिलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *