काठमाडौ ।प्रधानमन्त्री बालेन शाहले भाेटेकाेशी विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको पाँचौँ दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीका अनुसार प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। राहत तथा उद्धारका लागि थप ७२ सहित हालसम्म ३९४ वटा उडान सञ्चालन गरिएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
जलविद्युत् आयोजना क्षेत्रमा फसेका नागरिकको उद्धारलाई समेत तीव्र बनाइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित विद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ भने चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी सुरुङ क्षेत्रमा खोजी गरिरहेका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा समेत उद्धार प्रयास जारी छ। नेपाली सेनाका इन्जिनियरसहित ९० जनाको संयुक्त टोलीले सुरुङभित्र पुगेर प्वाल बनाउँदै खोजी गरिरहेको छ। भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम जारी रहेको प्रधानमन्त्रीले बताएका छन्। माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा चिनियाँ विशेषज्ञ टोलीको समन्वयमा उद्धार भइरहेको छ।
त्यस्तै रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा भारतीय तथा कोरियन विशेषज्ञ टोलीसमेत परिचालन गरी खोज तथा उद्धार कार्य अघि बढाइएको छ।
२६७ घाइतेको उद्धार, १५६ जना डिस्चार्ज
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट चिकित्सकको टोली परिचालन गरिएको छ।
राहतका लागि साढे ५ अर्बभन्दा बढी रकम संकलन
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जनाइएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर समेत जम्मा भएको प्रधानमन्त्रीले बताएका छन्।
सरकारले संकलित रकमलाई प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।
२६ आश्रयस्थल तथा राहत केन्द्र सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ। त्यहाँबाट धादिङको बैरेनी र रसुवाको धुन्चेसहित प्रभावित क्षेत्रमा राहत पठाउने व्यवस्था मिलाइएको छ।
भारत, चीनसहित अन्तर्राष्ट्रिय सहयोग बढ्दै
विपद्पछि भारत, चीन, अमेरिका, अष्ट्रेलिया, स्विट्जरल्यान्डलगायतका मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक तथा मानवीय सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्रीले बताएका छन्।
एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर बजेटरी सहयोग, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ।
भारतबाट हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाउनुका साथै थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। चीनसँग ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ।
सञ्चार सेवा पुनःस्थापना हुँदै
बाढीबाट अवरुद्ध भएको सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाइएको छ।
नेपाल टेलिकमका अवरुद्ध टावरमध्ये अधिकांश पुनः सञ्चालनमा आएका छन्। एनसेलका टावरहरू पनि क्रमशः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीले बताएका छन्।
७८१ शव फेला
बाढीमा ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्रीले विपद्को यस कठिन घडीमा राज्यका सम्पूर्ण संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताउँदै प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्