धादिङ । धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
थाक्रे गाउँपालिकाको सभाहलमा बसेको संयुक्त बैठकले बाढी तथा पहिरोबाट बढी प्रभावित चार स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा उक्त रकम संयुक्त रूपमा व्यवस्थापन गरी वितरण गर्ने निर्णय गरेको हो।
बैठकले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै राहत, स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न तथा अस्थायी आवास व्यवस्थापनमा स्थानीय तहको नेतृत्व थप सुदृढ गर्ने निर्णय गरेको छ। साथै संघीय तथा प्रदेश सरकार, निजी क्षेत्र, दातृ निकाय र नागरिक समाजसँग आवश्यक समन्वय गरी पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरिएको छ।
विपद्का कारण क्षति पुगेका सडक, पुल, विद्यालय तथा स्वास्थ्य संस्थालगायतका संरचनाको शीघ्र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक स्रोत व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग बजेट तथा सहयोग माग गर्ने निर्णय गरिएको छ।
बैठकले सडक तथा पुल पुनर्निर्माणलाई विशेष प्राथमिकता दिँदै मलेखु–फुर्केखोला पुलको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी गल्छी–कल्लेरीटार–फोस्रेटार–केशीखोला–सुनौलाबजार–धादिङबेँसी, मासटार–केउरीनी, बेलिनटार–आदमटार–पिपलटार–परेवाटार–धादिङबेँसी, सांकोस–तिप्लिङ–सोमदाङ तथा धादिङबेँसी–सल्यानटार–आरुघाट सडकको मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ।
संयुक्त बैठकले विपद् व्यवस्थापनमा स्थानीय तहको नेतृत्वलाई प्रभावकारी बनाउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिन सबै सरोकारवाला निकायलाई सहयोग गर्न आह्वान गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्