बाढी प्रभावितका लागि वीर अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी मुडभरीद्वारा अत्यावश्यक औषधि सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १६, मंगलवार १९:२४


नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरी निवासी तथा वीर अस्पतालमा कार्यरत वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले रसुवाको भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित तटीय क्षेत्रका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरहरूमा अत्यावश्यक औषधि उपलब्ध गराएका छन्।


बाढी प्रभावित क्षेत्रमा दीर्घरोगका बिरामीले नियमित सेवन गर्नुपर्ने मुटुरोग, मधुमेह, दम, थाइराइड, प्रोस्टेट तथा छालासम्बन्धी औषधिको अभाव हुन थालेपछि मुडभरीले स्थानीय स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको मागअनुसार औषधि उपलब्ध गराएका हुन्।


उनले तल्लोपिपलटारस्थित आयुर्वेद चिकित्सालय, विदुर नगरपालिका–१ स्थित शहरी स्वास्थ्य केन्द्र, गेर्खुटार शहरी स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थामा आवश्यक औषधि प्रदान गरेका छन्।


बाढीपछि प्रभावित नागरिकमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको भन्दै मुडभरीले यसतर्फ सरकार तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। विशेषगरी जिउ चिलाउने, खुट्टा सुन्निने, कान दुख्ने लगायतका समस्या लिएर प्रभावितहरू स्वास्थ्य संस्थामा पुग्न थालेको उनले बताए।


बाढी तथा विस्थापनका कारण नागरिकमा शारीरिकसँगै मानसिक तनावसमेत बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा समयमै उचित मनोसामाजिक परामर्श तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।


मुडभरीले बाढी प्रभावित क्षेत्रमा दीर्घरोगी, वृद्धवृद्धा, बालबालिका तथा अन्य जोखिममा रहेका नागरिकलाई नियमित स्वास्थ्य सेवा र औषधिको निरन्तर व्यवस्था गर्न सरकार तथा स्थानीय तहलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *