नुवाकोट । किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माणलाई व्यवस्थित, पारदर्शी र एकद्वार प्रणालीमार्फत अघि बढाउन सहयोगी संघसंस्था तथा व्यक्तिहरूलाई पालिकासँग समन्वय गर्न आग्रह गर्नुभएको छ।
अध्यक्ष तामाङले विद्युत् तथा इन्टरनेट समस्याका कारण गाउँपालिकाको आधिकारिक पेज सञ्चालन हुन नसकेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकलाई पालिकाभित्रको पछिल्लो राहत तथा उद्धार अवस्थाबारे जानकारी गराउन विज्ञप्तिमार्फत अपिल गर्नुभएको हो।
उहाँले विपद्को कठिन अवस्थामा पालिकाभित्र र बाहिरबाट विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, प्रदेश तथा संघीय सांसद, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, सामाजिक व्यक्तित्व, विभिन्न धर्म तथा क्षेत्रसँग सम्बन्धित संघसंस्था र दातृ निकायबाट प्राप्त सहयोगप्रति गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ।
पालिकाका अनुसार किस्पाङका दीर्घरोगी नागरिकका लागि सुगर, प्रेसर, दम, मुटुलगायत नियमित सेवन गर्नुपर्ने औषधि १० देखि १५ दिनसम्म पुग्ने गरी व्यवस्थापन गरिएको छ। त्यस्तै, दुईवटा सेल्टरमा रहेका नागरिकका लागि करिब आधा महिनालाई पुग्ने खाद्यान्न व्यवस्थापन भइसकेको जनाइएको छ।
जिल्ला विपद् व्यवस्थापनमार्फत विपद्को छैटौँ दिनसम्म ५ वटा हेलिकप्टरमार्फत राहत सामग्री, औषधि, खाद्यान्न, इन्धन, लत्ताकपडा, ओढ्ने–ओछ्याउने तथा पकाउने सामग्री प्राप्त भइसकेको पालिकाले जनाएको छ।
त्यसैगरी, हिन्दु स्वयंसेवक संघ नेपाल, सेभ द चिल्ड्रेन, डब्लुएफपी, नेपाल रेडक्रस, किस्पाङ ट्रेकिङ क्षेत्रका युवाहरूको समूह, शान्ति नेपाललगायत विभिन्न व्यक्ति तथा सामाजिक संस्थाबाट समेत आधिकारिक रूपमा राहत सामग्री प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
दुई सेल्टरमा ६७ जना
विपद्को सुरुवाती दिनदेखि सञ्चालनमा रहेका दुईवटा सेल्टरमा हाल ६७ जना रहेको पालिकाले जनाएको छ। कार्की मनकामना आधारभूत विद्यालयमा किस्पाङकै तीन परिवारका १२ जना रहेका छन् भने त्रिभुवन माध्यमिक विद्यालय, अर्चलेमा किस्पाङ तथा रसुवाको उत्तरगया गाउँपालिकासहित ५५ जना आश्रय लिइरहेका छन्।
किस्पाङमा १४० जना बेपत्ता
गाउँपालिकाका अनुसार वडा नं. १ देखि ५ सम्म क्रमशः १९, ५, ३, ८ र १०५ जना गरी कुल १४० जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ।
पालिकाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार भौतिक क्षतितर्फ ४ वटा पक्की घर, ३२ वटा ट्रस्ट घर र ५ वटा टहरा पूर्णरूपमा क्षति भएको उल्लेख छ। त्यस्तै, २ वटा झोलुङ्गे पुल, २ वटा मोटरेबल पुल तथा १ वटा पक्की सडक पूर्ण क्षति भएको पालिकाले जनाएको छ।
त्रिशूली–३ ए को सुरुङतर्फ खोजी कार्य जारी रहेको तथा विद्युत् सेवा अझै सञ्चालनमा आउन नसकेको विज्ञप्तिमा उल्लेख छ। विद्युत् पुनः सञ्चालनका लागि किस्पाङका युवाहरू स्वयंसेवकका रूपमा खटिरहेको पालिकाले जनाएको छ।
अर्चले क्षेत्रमा युवाहरूको औषधि सहयोग तथा गाउँपालिकाका स्वास्थ्यकर्मी र एमबीबीएस चिकित्सकसहित नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण तथा उपचारसमेत भइरहेको जनाइएको छ।
वैकल्पिक सडक निर्माणका लागि होमपाइप तयारी
सोले–चेम्पेसौरा–किर्नेबगर क्षेत्रमा होमपाइप राखी छोटो रुटबाट खोला तर्ने वैकल्पिक सडक निर्माणका लागि गल्छीको भल्टारमा रहेको १२० आकारका १६ वटा होमपाइप व्यवस्थापन गरिएको भए पनि ढुवानी साधन तथा सडकको समस्याका कारण हालसम्म ल्याउन नसकिएको पालिकाले जनाएको छ।
अध्यक्ष तामाङले विपद्पछिको राहत तथा उद्धारसँगै अब पुनर्निर्माणको तयारीलाई समेत अघि बढाइने बताउनुभएको छ। यसका लागि गाउँपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी राहत र पुनर्निर्माणको आगामी कार्ययोजना तय गर्ने जनाएको छ।
समन्वयबिना राहत नल्याउन अपिल
अध्यक्ष तामाङले अब बाटोमा आइसकेको राहत सामग्रीबाहेक किस्पाङमा प्रत्यक्ष सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई गाउँपालिकासँग समन्वय र अनुमति लिएर मात्र राहत वितरण गर्न अनुरोध गर्नुभएको छ।
वास्तविक आवश्यकता पहिचान गरी राहत उपलब्ध गराउने, राहत वितरणलाई व्यवस्थित बनाउने तथा एकद्वार र पारदर्शी प्रणाली कायम गर्ने उद्देश्यले पालिकासँग समन्वय नगरी गरिने सहयोगको सामग्री विवरण गाउँपालिकाको सूचीकरणमा समावेश नहुनेसमेत उहाँले स्पष्ट पार्नुभएको छ।
“विपद्को यो घडीमा सहयोग गर्ने सबै सहयोगी हातप्रति गाउँपालिका कृतज्ञ छ। अबको राहत तथा पुनर्निर्माण कार्यलाई व्यवस्थित, पारदर्शी र वास्तविक आवश्यकताका आधारमा अघि बढाउन सबैले गाउँपालिकासँग समन्वय गरिदिनुहुन अनुरोध गर्दछौँ,” अध्यक्ष तामाङको विज्ञप्तिमा उल्लेख छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्