नुवाकोट । लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम कटाएर बाढीपीडितको सहयोगका लागि रु. १२ हजार ४४५ संकलन गरेका छन्।
विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम बचाउँदै संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यायका प्रधानाध्यापक हरि प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यार्थीहरूले देखाएको यो मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
विद्यार्थीहरूले कक्षा–कक्षाबाट संकलन गरेको रकमको विवरणसमेत सार्वजनिक गरिएको छ। सानै उमेरमा आफ्नो व्यक्तिगत खर्च कटाएर विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउनु सराहनीय र अनुकरणीय कार्य भएको विद्यालयको भनाइ छ।
लिखु गाउँपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय नुवाकोट जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित छ। शैक्षिक उपलब्धिसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत विद्यार्थीलाई जोड्दै आएको विद्यालयले जनाएको छ।
बाढीपीडितका लागि विद्यार्थीहरूले गरेको यो सहयोगले ‘सानो सहयोग पनि विपद्का बेला ठूलो अर्थ राख्छ’ भन्ने सन्देश दिएको छ। विद्यार्थी भाइबहिनीहरूको यस मानवीय पहलप्रति विद्यालय परिवार तथा स्थानीयवासीले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्