बाढी प्रभावित नुवाकोटमा रेडक्रसका १२ स्वयंसेवक परिचालन, मनोसामाजिक सहयोगमा जोड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १८, बिहीबार १६:४५

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले १२ जना स्वयंसेवक परिचालन गरेको छ। त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग तथा परामर्श मनोविज्ञान कार्यक्रमसँगको सहकार्यमा स्वयंसेवक परिचालन गरिएको हो।


बाढी प्रभावित व्यक्ति, परिवार, समुदाय, विद्यालय तथा विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गर्ने उद्देश्यले स्वयंसेवकहरू खटाइएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।


परिचालित स्वयंसेवकहरूले प्रभावितहरूको घर–घरमा पुगेर मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी गतिविधि सञ्चालन गर्नेछन्। आवश्यकताअनुसार परामर्श सेवा उपलब्ध गराउने तथा थप विशेषज्ञ सेवा आवश्यक पर्ने व्यक्तिलाई सम्बन्धित निकायसँग जोड्ने कामसमेत गरिनेछ।


त्यस्तै, प्रभावित परिवारलाई खाना, आवास, सुरक्षा लगायतका आधारभूत सेवाको आवश्यकता देखिएमा उनीहरूलाई सम्बन्धित निकायको सहयोग प्रणालीमा जोड्न पैरवीसमेत गरिने रेडक्रसले जनाएको छ।


बाढी प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकलाई नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले प्रभावितहरूको कुरा ध्यानपूर्वक सुन्न र उनीहरूको आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गरेका छन्। प्रभावितको मनको कुरा सुन्नु र आवश्यक सहयोगको पहुँचमा पुर्‍याउनु पनि महत्वपूर्ण मानवीय सहयोग हुने उनीहरूको भनाइ छ।


नेपाल रेडक्रस सोसाइटीले यसअघि नै बाढी प्रभावित क्षेत्रमा स्थानीय रेडक्रसका स्वयंसेवक परिचालन गरी मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन गर्दै आएको छ। आवश्यकताका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने रेडक्रसको योजना छ।
बाढीपछि रेडक्रसले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, पारिवारिक सम्पर्क पुनःस्थापना तथा राहत वितरण लगायतका मानवीय कार्यसमेत सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *