बाढीपीडितलाई घर फर्काउनेदेखि बेली ब्रिजसम्म, विदुरले राख्यो संघसँग ४ माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १८, बिहीबार १८:००


नुवाकोट । विदुर नगरपालिकाका विभिन्न वडामा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षति, उत्पन्न समस्या तथा समाधानका विषयमा संघीय सरकारसँग महत्वपूर्ण छलफल भएको छ।


बिहीबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिमा रावलको प्रमुख आतिथ्यतामा सम्बन्धित पदाधिकारीहरूको उपस्थितिमा छलफल सम्पन्न भएको हो।


छलफलमा नगर प्रमुख श्रेष्ठले बाढीपीडित नागरिकलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र सुरक्षित बसोबासको सुनिश्चितता गर्न संघीय सरकारसँग विशेष पहल तथा सहकार्यका लागि आग्रह गर्नुभयो।


उहाँले विपद्का कारण आर्थिक रूपमा प्रभावित तथा गरिब नागरिकले लिएको ऋणमा राज्यले आवश्यक लचकता अपनाउने व्यवस्था गर्नुपर्ने, प्रभावित क्षेत्रको आवागमन तथा कनेक्टिभिटी सहज बनाउन बेली ब्रिज निर्माण गर्नुपर्ने र स्थायी बसोबासका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गा व्यवस्थापन गर्नुपर्ने माग राख्नुभयो।


त्यस्तै, हाल होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको दीर्घकालीन समाधान गर्दै सुरक्षित र सम्मानजनक रूपमा घर फर्किने वातावरण सुनिश्चित गर्न समेत नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो।
विपद् व्यवस्थापन, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विदुर नगरपालिकाले संघ, प्रदेशलगायत अन्य सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत नगरपालिकाले जनाएको छ।


छलफलका क्रममा मन्त्री रावलले विपद्को कठिन परिस्थितिमा विदुर नगरपालिकाले निर्वाह गरेको सक्रिय भूमिका तथा समन्वयको प्रशंसा गर्दै बाढीपीडित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने गरी संघीय सरकारबाट आवश्यक राहत तथा सहयोगसम्बन्धी घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *