संस्थापनलाई चुनौती दिँदै देउवा पक्षले तोक्यो कांग्रेसको १५औँ महाधिवेशनको मिति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १८, बिहीबार २१:५९


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्दै ९ बुँदे निर्णय गरेको छ। बिहीबार सम्पन्न देउवा पक्षको बैठकले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।


बैठकले महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनको कार्यतालिकासमेत तय गरेको छ। जसअनुसार वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने निर्णय गरिएको छ।


महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मेवारी पार्टी नेता शशांक कोइरालालाई दिने निर्णय बैठकले गरेको छ।


त्यस्तै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठनको जिम्मेवारी पनि कोइरालालाई दिइएको छ।


बैठकले ७७ वटै जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने तथा तोकिएको समयभित्र जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका अधिवेशन तयारी समिति गठन गरिसक्ने निर्णय गरेको छ।


क्रियाशील सदस्यताको विषयमा पनि विभिन्न मापदण्ड तय गर्दै विवाद उत्पन्न भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने व्यवस्था गरिएको छ। प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका लागि इच्छुक उम्मेदवारको नामावली संकलन गरी उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।


यसैगरी बैठकले भदौ २४ गते भक्तपुरमा ११३औँ बीपी जयन्ती मनाउने निर्णय गरेको छ। कार्यक्रम व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्ने निर्णय पनि गरिएको छ।


भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङ प्रभावित भएकाले ती जिल्लाको अधिवेशन कार्यतालिका भने पछि सार्वजनिक गर्ने निर्णय गरिएको छ।


यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। यससँगै कांग्रेसभित्र महाधिवेशनको मिति र तयारीलाई लिएर दुई पक्षबीच मतभेद थप स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *