२० भदौ, काठमाडौं । भाेटेकाेशी बाढीकाे ११ औ दिनमा चमत्कारिक सफलता प्राप्त भएको छ ।
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।
बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको हो
विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरमा पुरिएकी चण्डिकालाई सशस्त्र प्रहरी बलको टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले टोलीले खुवाएको पानीसमेत खाएकी छन्। उनी बोल्न सक्ने अवस्थामा रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठका अनुसार उनी ५५ वर्षकी हुन्। पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा चण्डिका जीवितै फेला परेकी हुन्।
सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उनको उद्धार गरेको हो। उद्धारपछि टोलीले पानी खुवाएको थियो। चण्डिकाले पानी खाएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयमा थप उत्साह देखिएको थियो। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।
यसै दिन रसुवा बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले ती चिनियाँ नागरिकलाई शनिबार सुरुङबाट जीवितै बाहिर निकालेको हो। ११औँ दिनमा उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथली ब्यारेकतर्फ लगिँदैछ।
भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्र र सुरुङ प्रभावित भएको थियो। सुरुङमा फसेका चिनियाँ नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विपद् विज्ञ टोली परिचालन भएको थियो।
यसअघि शुक्रबार पनि बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई जीवितै बाहिर निकालिएको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्