राप्रपामा अर्को झट्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २१, आईतवार १७:५१


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैली, आन्तरिक गुटबन्दी तथा पारदर्शिताको अभावप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।


पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीका सबै पद तथा साधारण सदस्यतासमेत त्याग गरेको जानकारी दिएका हुन्। उनी करिब चार वर्षदेखि राप्रपाको महामन्त्रीको जिम्मेवारीमा थिए।


विज्ञप्तिमा पाठकले पार्टीले अंगालेको विचार र व्यवहारबीच चरम विरोधाभास रहेको उल्लेख गरेका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई मूलमन्त्र बनाएको दाबी गर्ने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव रहेको उनले बताएका छन्।


पाठकले राप्रपाको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखि नै रहेको आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष अझै बढ्दै गएको आरोप पनि लगाएका छन्। यस्ता प्रवृत्तिका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न कठिन भएको उनको भनाइ छ।


‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्नै कमजोरीहरू पनि होलान्,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यद्यपि, राप्रपाका तल्ला तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताप्रति आफू सधैँ सम्मानित रहने उनले बताएका छन्।
पाठक पूर्व सञ्चारकर्मी तथा राजनीतिज्ञ रविन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका थिए। मिश्रले पनि गत निर्वाचनलगत्तै पार्टीबाट अलग हुने निर्णय गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *