नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका विदुर नगरपालिकाका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन्।
नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार बाढीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरी सञ्चालनमा ल्याउन लागिएको हो।
नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय नियमित सञ्चालन गर्न अनुरोध गरेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट विदुर नगरपालिकामा सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय पूर्ण रूपमा प्रभावित भएका छन्। विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुगेपछि ती विद्यालयमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ देखिएको छ।
बाढी र त्यसपछिको विपद्का कारण नगर क्षेत्रका करिब ३ सय विद्यार्थी सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको अवस्था तथा हालको बसोबासबारे समेत खोजी तथा समन्वय आवश्यक देखिएको छ।
नगरपालिकाले विद्यालय सञ्चालन गर्दा विद्यार्थीको सुरक्षा, विद्यालयको भौतिक अवस्था तथा आवतजावतको अवस्थालाई ध्यान दिन आग्रह गरेको छ। बाढीबाट पूर्ण क्षति भएका विद्यालयका विद्यार्थीका लागि भने वैकल्पिक व्यवस्थामार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्