नुवाकोट । भोटेकोशी बाढीले त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि नदी वारपारमा परेको कठिनाइलाई मध्यनजर गर्दै निर्माण व्यवसायी महासंघको अगुवाइमा त्रिशूलीमा झोलुंगे पुल निर्माण गरिने भएको छ।
त्रिशूली नदी वारपारका लागि अहिले तुइनको भर पर्नुपर्ने बाध्यता रहेकाले नागरिकको आवतजावत सहज बनाउन पुल निर्माणको पहल अघि बढाइएको हो। पुल निर्माणका लागि निर्माण व्यवसायी महासंघले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सहमति भएको नुवाकोट निर्माण व्यवसायी तथा नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति जगतबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार पुल निर्माणका लागि आवश्यक पर्ने अपुग रकम निर्माण व्यवसायी महासंघ नुवाकोट शाखाले व्यवस्थापन गर्ने गरी काम अघि बढाउने सहमति भएको छ। आगामी एक–दुई दिनभित्रै पुल निर्माणका लागि उपयुक्त स्थानको स्थलगत पहिचान गरी निर्माण कार्य सुरु गर्ने तयारी छ।
पुलका लागि बान्द्रे आसपासका क्षेत्रलाई सम्भावित स्थानका रूपमा अध्ययन भइरहेको छ। निर्माण कार्यलाई तीव्रता दिएर दशैंअघि नै झोलुंगे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको तामाङले बताए।
भोटेकोशी बाढीपछि त्रिशूली नदीमाथिका पुलहरू बगाउँदा नदी वारपार गर्ने नागरिकलाई ठूलो समस्या भएको छ। अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याइएको तुइनबाट दैनिक एक सयदेखि एक सय ५० जनासम्म वारपार गर्ने गरेका छन्। अत्यधिक चाप भएपछि अर्को स्थानमा थप तुइन निर्माणको कामसमेत भइरहेको छ।
झोलुंगे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयका इन्जिनियरहरू पनि स्थलगत रूपमा सक्रिय भएका छन्। प्राविधिक अध्ययन सँगै निर्माण प्रक्रिया अघि बढेकाे छ ।
भोटेकोशी बाढीले नुवाकोटका बेत्रावती, त्रिशूली, ढुंगे र देवीघाटलगायतका महत्वपूर्ण बजार तथा बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीले घर, सडक, पुल तथा अन्य भौतिक संरचना बगाएपछि प्रभावित परिवारहरू अहिले होल्डिङ सेन्टरमा बस्न बाध्य छन्।
बाढीपछि लामो समयसम्म नदी वारपारको समस्या झेलिरहेका स्थानीयका लागि झोलुंगे पुल निर्माणले आवतजावतसँगै दैनिक जनजीवन सहज हुने अपेक्षा गरिएको छ।
नाेट : एआईकाे सहयाेगमा सांकेतिक तस्बिर
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्