बेलकोटगढी । भदौ १० गते आएको त्यो विनाशकारी बाढी(जसलाई धेरैले महाप्रलयको संज्ञा दिएका छन्)—ले रसुवाको टिमुरेदेखि भरतपुरको चितवनसम्म ठूलो जनधनको क्षति पुर्यायो। भोटेकोशीसहितका नदी तथा खोलामा आएको उर्लंदो भेलले बस्ती, सडक, पुल, खेतबारी र नागरिकका सपनासमेत बगायो।
यो विपत्तिमा करिब १५ सय जनाले ज्यान गुमाएको र करिब पाँच हजार नागरिक अझै सम्पर्कविहीन रहेको पीडादायी अवस्था छ। आफ्नो परिवारका सदस्य, घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका नागरिक यतिबेला राज्य, समाज र सहयोगी हातहरूको प्रतीक्षामा छन्।
विपत्तिमा परेका नागरिकका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगै राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघसंस्थाहरू राहत, उद्धार र सहयोगमा जुटिरहेका छन्। तर यस्तै महाविपत्तिको बीचमा कतिपय जनप्रतिनिधि आफैंले करोडौँको व्यक्तिगत सम्पत्ति गुमाउँदा पनि त्यसको पीडालाई थाती राखेर नागरिक सेवामा अटल र अटुट रूपमा खटिरहेका छन्।
यस्तै प्रतिनिधिमध्येका एक हुन्—बाढी प्रभावित बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल।
गल्छी – त्रिशूली सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका–८ को जिलिङ तल्लो भेगस्थितका शीटार नयाँ पुल बस्दै आउनुभएका उपमेयर दाहालको आफ्नै परिवार र सम्पत्तिमाथि पनि भदौ १० गतेको भेलले ठूलो चोट पुर्याएको छ। बाढीका कारण उहाँको करिब सातदेखि आठ करोड रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ।
घर आसपासमा रहेकाे ९ राेपनी खेत, त्यहाँ रहेका सडक नजिक ट्रस्ट अन्तर्गतका १२ वटा व्यावसायिक सटर, दुई वटा गोदामसहित आफू बस्दै आएको घरसमेत बाढीको चपेटामा परेको छ। उहाँको बसोबास रहेको घरको आधाभाग डुबानमा परेको छ।
जीवनभरको परिश्रमबाट जोडेको करोडौँको सम्पत्ति एकैपटकको भेलले क्षतिग्रस्त बनाउँदा जोसुकै मानिस पनि विचलित हुन सक्छ। तर उपमेयर दाहाल यतिबेला आफ्नो व्यक्तिगत पीडाभन्दा माथि उठेर नागरिकको पीडामा साथ दिन खटिरहनुभएको छ।
उहाँका लागि त्यो सम्पत्ति व्यक्तिगत सम्पत्ति मात्र हो। तर उहाँ जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। त्यसैले उहाँ नागरिकको दुःखलाई आफ्नै दुःख र नागरिकको सम्पत्तिलाई आफ्नै सम्पत्तिसरह ठानेर राहत, उद्धार तथा विपद्मा परेका नागरिकको पुनर्बासको व्यवस्थामा निरन्तर लागिरहनुभएको छ।
बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ र उपमेयर दाहालसहित नगरपालिकाको सम्पूर्ण टिम यतिबेला प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि अनवरत रूपमा क्रियाशील छ।
नगरपालिकाको अहिलेको मुख्य ध्यान विद्यालयमा अस्थायी रूपमा राखिएका नागरिकलाई अन्य सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक सञ्चालन गराउनेतर्फ केन्द्रित छ। यी दुवै महत्वपूर्ण कामका लागि नगरपालिकाको सिंगो टिम सक्रिय भएर मैदानमा खटिरहेको छ।
आफैंले यति ठूलो सम्पत्ति गुमाउँदा पनि विचलित नभई नागरिक सेवामा निरन्तर लागिरहनुभएको सन्दर्भमा उपमेयर दाहाललाई हाम्राे टिमले साेधेकाे थियो—“तपाईंले यति धेरै सम्पत्ति गुमाउनुभएको छ, तर पनि तपाईं कतिपनि विचलित हुनुभएको छैन नि?”
उहाँको जवाफ अत्यन्तै भावुक र प्रेरणादायी थियो।
“मलाई जनताले पाँच वर्ष सेवा गर्नका लागि निर्वाचित गर्नुभएको हो। मेरो सम्पत्ति गयो, तर म जीवित रहेर विपत्तिमा परेका नागरिकको सेवा गर्न पाएको छु। त्यसमा म धेरै खुशी छु,” उहाँले भन्नुभयो।
उहाँ थप्नुहुन्छ, “सम्पत्ति त यस्तै हो, आउँछ–जान्छ। मेरो चाहना जनताको सेवा गर्नु हो। म त्यही भावनाका साथ राजनीतिमा आएको हुँ। अहिले नागरिक विपत्तिमा छन्, उनीहरूको साथमा हुनु मेरो पहिलो कर्तव्य हो।”
उपमेयर दाहालको यही भावनाले एउटा सच्चा जनप्रतिनिधिको परिचय दिन्छ। व्यक्तिगत रूपमा ठूलो क्षति व्यहोर्दासमेत नागरिकको पीडा कम गर्ने अभियानमा आफूलाई समर्पित गर्नु केवल जिम्मेवारी निर्वाह मात्र होइन, जनप्रतिनिधित्वको वास्तविक अर्थ पनि हो।
यहिबिचमा बेलकोटगढी नगरपालिकाले विपद्मा परेका आफ्ना नागरिकलाई तत्काल २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, खेतीयोग्य जमिन गुमाएका किसानलाई १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। नगरपालिकाले भदौ २४ गतेबाट विद्यालय सञ्चालन गर्ने र विद्यालयमा रहेका होल्डिङ सेन्टरलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने निर्णयसमेत गरिसकेको छ।
हाम्रो जस्तो मुलुक, जहाँ साधन–स्रोतको अभाव छ, त्यसमाथि संघीय सरकारको एकद्वार प्रणालीले सिर्जना गरेका अवरोधहरू छन्। ध्वस्त सडक, क्षतिग्रस्त संरचना र त्रासदीपूर्ण जनजीवनका बीच राहत तथा पुनर्स्थापनाको काम सहज छैन।पाइला पाइलामा आराेप र आलाेचा जनप्रतिनिधिका लागि एक अर्कााे परिपुरक जस्तै बनिरहेको छ । जति गरेपनि जस पाउने अवस्था छैन ,
तर यस्तै कठिन परिस्थितिमा आफ्नो व्यक्तिगत स्वार्थ, दुःख र क्षतिभन्दा धेरै माथि उठेर नागरिकको सेवामा दत्तचित्त भएर खटिने जनप्रतिनिधिहरू नै लोकतन्त्र र संघीयताको वास्तविक शक्ति हुन्।
करोडौँको सम्पत्ति बाढीले बगाउँदा पनि नागरिकको आँसु पुछ्न, राहत पुर्याउन, उद्धार गर्न र पुनर्बासको व्यवस्था गर्न अटल रूपमा खटिनु भएका उपमेयर शिवप्रसाद दाहालजस्ता जनप्रतिनिधि हुनु र नागरिक सेवामा यसरी दत्तचित्त हुनु नै संघीयताको सुन्दर पक्ष मान्नुपर्छ।
किनकि अन्ततः सम्पत्ति क्षणभरमा गुम्न सक्छ, घर र संरचना फेरि बनाउन सकिन्छ, खेतबारी फेरि जोत्न सकिन्छ। तर विपत्तिको बेला नागरिकको हात समात्ने मानवीय भावना, जिम्मेवारी र सेवाको संस्कार नै समाजको सबैभन्दा ठूलो सम्पत्ति हो। र , बेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालले यतिबेला आफ्नै जीवनबाट त्यही सन्देश दिइरहनुभएको छ—“व्यक्तिगत सम्पत्ति गुम्न सक्छ, तर जनताको सेवाप्रतिको प्रतिबद्धता कहिल्यै डुब्नु हुँदैन।”



दाहालकाे बाढी आउनुअघिकाे धान खेत

१२ ओटा सटर रहेकाे स्थान

सडक सरसफाइमा नेतृत्वदायी रुपमा सक्रिय दाहाल
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्