नुवाकोट — यातायातको सहज विकल्प तथा बेली ब्रिज निर्माण नहुँदासम्म त्रिशूली अस्पतालमा उपचारका लागि आउन समस्या भएका त्रिशूली वारीका बिरामीलाई लक्षित गर्दै तल्लो पिपलटारबाट स्वास्थ्य सेवा सञ्चालन गरिने भएको छ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक औषधालय, तल्लो पिपलटारमा त्रिशूली अस्पतालबाट खटिएका दुई जना मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गर्ने भएको हो।
त्रिशूली अस्पताल र आयुर्वेद तथा वैकल्पिक औषधालयबीच समन्वय गरी आगामी २०८३ साल भदौ २३ गतेदेखि ओपिडी तथा आइपिडी सेवा सञ्चालन गरिने जानकारी दिइएको छ।
यातायात अवरुद्ध तथा त्रिशूली अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा त्रिशूली वारीका बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको सम्बन्धित निकायले जनाएको छ।
यस व्यवस्थाबाट प्रभावित क्षेत्रका बिरामीहरूले तल्लो पिपलटारमै आवश्यक स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन्। सम्बन्धित सबै सरोकारवाला तथा सेवाग्राहीलाई उक्त सेवाबारे जानकारी गराइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्