भोटेकोशी बाढीले नुवाकोटमा ४०७ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत, धानसहित विभिन्न बाली नष्ट

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २३, मंगलवार १०:२८



नुवाकोट । भदौ १० गते आएको भोटेकोशी बाढीले नुवाकोट जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाका ४०७ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको कृषि विकास कार्यालय नुवाकोटको प्रारम्भिक विवरणले देखाएको छ।

कृषि विकास कार्यालयले सेटेलाइट सर्वेक्षणबाट संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार बाढीले ३९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट गरेको छ। त्यस्तै, १ हेक्टर खरबुजा, १ हेक्टर सयपत्री फूल, १ हेक्टर खुर्सानी र ५ हेक्टर काउली खेतीमा क्षति पुगेको कार्यालयले जनाएको छ।


कार्यालयका सूचना अधिकारी प्रवेश आचार्यका अनुसार बगरमा परिणत भएको जमिनमा तत्काल धान खेती गर्न कठिन हुने देखिएको छ। त्यस्ता जमिनमा बगरको सामान्य सुधार गरेर उत्पादन लिन सकिने बाली मात्र लगाउन सकिने उहाँले बताउनुभयो।


यद्यपि, बाढीका कारण विभिन्न स्थानमा सडक तथा यातायात अवरुद्ध रहेकाले कार्यालयको टोली अझै सबै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन। प्रभावित जमिनको स्थलगत अवस्था अध्ययन गरेपछि मात्र कुन क्षेत्रमा कस्तो बाली लगाउन सकिन्छ भन्ने यकिन गर्न सकिने आचार्यले बताउनुभयो।


कृषि विकास कार्यालय नुवाकोटका अनुसार जिल्लामा कुल १३ हजार १३१ हेक्टर खेतीयोग्य जमिन रहेको छ। नुवाकोट कृषि उत्पादनका दृष्टिले आत्मनिर्भर जिल्लाका रूपमा रहेको भए पनि यस वर्षको बाढीका कारण कृषि उत्पादनमा करिब १५ प्रतिशत कमी आउने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।


बाढीले खेतीयोग्य जमिनमै ठूलो क्षति पुर्‍याएपछि आगामी वर्षको कृषि उत्पादन र किसानको आयमा समेत यसको प्रभाव पर्ने देखिएको छ। प्रभावित जमिनको पुनःउत्थान तथा वैकल्पिक खेतीका लागि सम्बन्धित निकायले तत्काल अध्ययन र योजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *