भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा तीनै तहबीच समन्वय बढाउने प्रतिबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २३, मंगलवार १६:५५



विदुर । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट विदुर नगरपालिकाका विभिन्न वडामा भएको जनधन तथा भौतिक संरचनाको क्षति, प्रभावित नागरिकका समस्या र तत्कालीन तथा दीर्घकालीन समाधानका उपायबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षता तथा सूचना तथा सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सीनाको प्रमुख आतिथ्यतामा आज २०८३ भदौ २३ गते कार्यक्रम सम्पन्न भएको हो। गत भदौ १० गते आएको आकस्मिक बाढीबाट नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेको क्षतिको समीक्षा गर्दै राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरिएको थियो।


कार्यक्रममा बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था, प्रभावित नागरिकका समस्या, राहत तथा पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आगामी दिनमा अपनाउनुपर्ने आवश्यक सावधानी र योजनाबारे विस्तृत अन्तरक्रिया भएको थियो।


कार्यक्रममा भाैतिक पूर्वाधार मन्त्री सस्मित पोखरेल, सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सीना, प्रतिनिधि सभा सदस्य डा. अच्युतम लामिछाने, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव प्रसाद दाहाल तथा विदुर नगरपालिका वडा नं. १, २, ४, ५, १० र ११ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।


बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत व्यवस्थापनसँगै विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको नगरपालिकाले जनाएको छ।


नगर प्रमुख राजन श्रेष्ठले बाढीबाट प्रभावित नागरिकको समस्या समाधान, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताए। प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका कार्यलाई योजनाबद्ध रूपमा अघि बढाउनेमा कार्यक्रममा जोड दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *