भोटेकोशी बाढीपीडितका लागि अस्थायी बसोबासको सर्वेक्षण सुरु, एक साताभित्र सम्पन्न गर्ने लक्ष्य

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार १४:५७


काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।


आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई सुरक्षित राख्न सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब प्रत्येक परिवारको आवश्यकता र इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारीस्वरूप सर्वेक्षण थालिएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’मार्फत ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरी सर्वेक्षण गरिरहेको जनाएको छ।


सर्वेक्षणमार्फत प्रभावित व्यक्ति तथा परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता तथा स्थानान्तरणका लागि उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ।


त्यसैगरी, खानेपानी, सरसफाइ तथा अन्य आवश्यकतासम्बन्धी विवरणसमेत सर्वेक्षणबाट तत्काल प्राप्त गरिनेछ। यसले होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारलाई अस्थायी बसोबास तथा पुनःस्थापनासम्बन्धी योजना कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सरकारले एक साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसपछि होल्डिङ सेन्टरभन्दा बाहिर रहेका बाढी प्रभावित परिवारको समेत यही फारम प्रयोग गरी आवश्यकता मूल्याङ्कन तथा सर्वेक्षण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *