कांग्रेसको आन्तरिक विवाद संवादबाटै समाधान गर्छौं : देउवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार १७:११



काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने बताएका छन्।

नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक पार्टीमा आन्तरिक बहस, मतभेद र फरक धारणा हुनु स्वाभाविक भएको भन्दै त्यसलाई विवादको रूपमा अघि बढाउन नहुने बताए।


उनले पार्टीभित्रका सानातिना मतभेद सामान्य भएको उल्लेख गर्दै सबै पक्षसँग छलफल गरेर समस्या समाधान गर्न आफू तयार रहेको बताए। ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन। हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो,’ देउवाले भने।


कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै उनले कार्यकर्तालाई संयमित भएर आन्तरिक समस्या पार्टीभित्रै छलफल गरी समाधान गर्न आग्रह गरे।


असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै देउवाले आफू सबैको कुरा सुन्न र कार्यकर्ताको भावना बुझेर अघि बढ्न तयार रहेको बताए। विवादबाट कसैलाई फाइदा नहुने भन्दै उनले सबै समस्याको समाधान छलफल र सहमतिबाट खोजिने प्रतिबद्धता व्यक्त गरे।


लोकतान्त्रिक पार्टीमा मतभेद हुनु र त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु नै पार्टीको शक्ति भएको उनको भनाइ थियो। देउवाले आन्तरिक विवाद छिट्टै समाधान गरी कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *