बाढीले परिवार गुमाएका त्रिशूली बजारका प्रकाश जोशीको माग– सुरक्षित पुनर्स्थापना होस्, तर स्मृतिस्थल जोगाइयोस्

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २, शुक्रबार २२:०४



विदुर, नुवाकोट। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट परिवार, घर, व्यवसाय र जीवनभरका सम्झना गुमाएका नुवाकोटको त्रिशूली बजार निवासी यातायात व्यवसायी तथा समाजसेवी प्रकाश जोशीले सरकारसमक्ष पीडितहरूको निजी घडेरी, स्मृति तथा भावनात्मक सम्पदाको संरक्षणसहित पुनर्स्थापनाको नीति बनाउन आग्रह गरेका छन्।


सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय नुवाकोट र विदुर नगरपालिकालाई सम्बोधन गर्दै जोशीले सुरक्षित पुनर्स्थापनाको नाममा पीडितहरूलाई आफ्नो जीवनको इतिहास र परिवारका सम्झनासँग पूर्ण रूपमा विच्छेद गराउनु मानवीय दृष्टिले पीडादायी हुने उल्लेख गरेका छन्।


भोटेकोशी–त्रिशूली बाढीमा जोशीले आफ्नी श्रीमती, आमा तथा १२ र १३ वर्ष उमेरका दुई नाबालक छोरासहित परिवारका सदस्य गुमाएका छन्। बाढीले उनको घर, व्यवसाय र वर्षौँको मेहनतबाट बनाएको सम्पत्ति मात्र होइन, जीवनका असंख्य सम्झनाहरू पनि बगाएको छ। उनी यतिबेला गहिरो पीडामा रहेका छन्।


पत्रमा जोशीले आफ्नो घर रहेको स्थान केवल जग्गा मात्र नभई परिवारको इतिहास, जन्म, हुर्काइ, चाडपर्व, हाँसो–खुसी र दिवंगत आफन्तहरूको अन्तिम सम्झनासँग जोडिएको भूमि भएको बताएका छन्।
उनले जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाउनु उचित नहुने स्वीकार गर्दै वैज्ञानिक अध्ययनका आधारमा इच्छुक पीडित परिवारलाई सुरक्षित स्थानमा सम्मानजनक पुनर्स्थापना गर्न आग्रह गरेका छन्। साथै, निजी जग्गाको स्वामित्वबारे स्पष्ट कानुनी व्यवस्था, उचित क्षतिपूर्ति तथा पीडितको सहमति सुनिश्चित गरिनुपर्ने माग पनि गरेका छन्।


जोशीले जोखिमका कारण आवास निर्माण गर्न नमिल्ने अवस्थामा पनि पीडितलाई आफ्नो निजी घडेरीमा स्मृति पार्क, स्मृति स्तम्भ, वृक्षारोपण वा परिवारको नाममा स्मृति संरचना निर्माण गर्न विशेष व्यवस्था गर्नुपर्ने बताएका छन्। पुनर्स्थापनाको नीतिमा पीडितको भावनात्मक र सामाजिक अधिकारलाई पनि समेट्नुपर्ने उनको जोड छ।


“मानिसलाई सुरक्षित स्थानमा सार्ने, तर उनीहरूको स्मृति र इतिहासलाई त्यहीँ संरक्षण गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्छ,” उनले भनेका छन्।


जोशीले आफूले अहिलेसम्म कुनै राहत सुविधा नलिएको र राज्यको सहयोगबिना पनि सुरक्षित स्थानमा नयाँ जीवन सुरु गर्न तयार रहेको उल्लेख गर्दै पुरानो जीवनको इतिहास भने मेट्न नचाहेको बताएका छन्। महाभूकम्प र कोभिड महामारीका समयमा समाजका लागि आफूले सक्दो योगदान गरेको स्मरण गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा पनि राज्यले मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।


उनको पत्रले पुनर्स्थापनालाई केवल घर र जग्गा सार्ने प्रक्रिया नभई परिवार, समाज र स्मृतिसँग जोडिएको मानवीय विषयका रूपमा हेर्नुपर्ने बहसलाई अघि सारेको छ। भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित धेरै परिवारका लागि पनि जोशीको यो आग्रह साझा भावना र पीडाको आवाजका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *