म यसकारण कांग्रेसका दुवै अधिवेशनमा सहभागी हुँदिन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ५, सोमबार १२:१०

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका युवा नेता केशवप्रसाद रिमालले पार्टीका दुवै पक्षले आयोजना गर्न लागेका अधिवेशनमा आफू सहभागी नहुने बताएका छन्। पार्टी विभाजनको साक्षी बन्नुभन्दा कांग्रेस एकताका लागि दबाब दिनु उचित भएकाले असोज ६ र १५ गते हुने दुवै अधिवेशनमा सहभागी नहुने निर्णय गरेको उनले बताएका छन्।

२०५२ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय रिमाल नेपाल विद्यार्थी संघ नुवाकोटको उपसचिव, बाल्मीकि क्याम्पसको विद्यार्थी संघ उपसभापति हुँदै नेविसंघ नुवाकोटको जिल्ला सचिकाे जिम्मेवारीमा रहेर काम गरेका नेता हुन्। उनी हाल अर्थशास्त्रका प्राध्यापक छन्। तारकेश्वर ५ घर भएका बाैद्विक र शालिन नेता रिमाल साेही वडाका क्रियाशिल सदस्य हुन् । विदेशमा बसेर अध्ययन तथा व्यवसायिक ज्ञान प्राप्त गरेर कांग्रेस राजनीतिमा थप क्रियाशिल हुने साेचमा रहेपनि कांग्रेसको पछिल्लो अवस्थाप्रति रिमाल निकै चिन्तित बनेका छन् ।

रिमालले भनेका छन्—

“म असोज ३ गते जिल्ला कार्यसमितिको बैठकमा पुगेको थिएँ। त्यहाँ केन्द्रीय प्रतिनिधिसहित केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, सीता मिजार, पूर्व सभापति जगदीश्वरनरसिंह केसी, सभापति रमेश महतसहित धेरै साथीहरू हुनुहुन्थ्यो। म सुरुदेखि अन्त्यसम्म बसेँ र सबैका कुरा सुनेँ।

धेरै साथीहरूको पीडा पनि सुनेँ। कति साथीहरू आफ्ना आफन्त गुमाएर आउनुभएको देखेँ। कति साथीहरू रुँदै यस्तो अवस्थामा अधिवेशन कसरी गर्ने भनेर प्रश्न गरिरहनुभएको पनि सुनेँ।

क्रियाशील सदस्यताको अवस्था पनि उस्तै जटिल रहेछ। कतिले पैसा बुझाउनुभएको छ, सदस्यता आएको छैन। यस्तो अवस्थामा कसरी अधिवेशनमा भाग लिने भनेर साथीहरूले प्रश्न गर्नुभएको पनि देखेँ।

कति साथीहरू भोलि नै भए पनि अर्कोलाई पन्छाएर प्रतिनिधि बन्ने दौडमा रहेको पनि बुझेँ। अनेकौँ अस्तव्यस्तताबीच केन्द्रीय प्रतिनिधिले यसको समाधानका लागि अझ बृहत् रूपमा केन्द्रसँग छलफल गर्नुहुनेछ भन्ने लागेको थियो।

तर, कति पीडामा रहेका साथीहरूको आग्रहलाई लत्याउँदै असोज ६ गते वडा अधिवेशन, त्यसपछि ९ गते पालिका र ११ गते क्षेत्रीय अधिवेशन गर्ने निर्णय भयो। अर्को तिर अर्को पक्ष पनि अर्को अधिवेशनको तयारीमा छ।

नेता–कार्यकर्तामा कुनै उत्साह छैन। केही थान मानिसहरू केन्द्रीय र जिल्लाको नेता बन्ने दौडमा मात्रै अधिवेशनको नाटक मञ्चन गरिरहेका छन्।

नुवाकोट र रसुवामा अझै अवस्था विकराल छ। त्रिशूली वारिपारि गर्न घण्टौँ लाइन बसेर तुइनको सहारा लिनुपर्ने अवस्था छ। देश अस्तव्यस्त अवस्थामा छ। कांग्रेसजस्तो पुरानो र देशको नेतृत्वदायी अवस्थामा रहेको पार्टी अहिले आफैँ–आफैँ लड्नु भनेको आफैँ सकिनु हो।

यस्तो विषम अवस्थामा अधिवेशनमा भाग लिएर पार्टी विभाजनको साक्षी बस्नुभन्दा दुवै अधिवेशनमा सहभागी नभई कांग्रेस एकताका लागि दबाब दिनु उचित लागेर म असोज ६ र १५ दुवै अधिवेशनमा सहभागी नहुने निर्णय गरेको छु।”

– रिमालसँगकाे कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *