भोटेकोशी बाढीपीडितका लागि डा. तामाङ नेतृत्वको संस्थाद्वारा ३ लाख सहयोग
नुवाकोट । नुवाकोटका समाजसेवी डा. भीमलाल तामाङले नेतृत्व गरेको संस्था गुड फ्रेन्ड्स अफ नेपाल (GFN) ले गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थाले बाढीपछि प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा राहत तथा उद्धारका कार्य गर्दै आएको जनाउँदै राष्ट्रिय विपत्तिको अवस्थामा राज्यको पुनर्निर्माण तथा पुनःस्थापनाको प्रयासमा आफ्नो तर्फबाट सहयोगस्वरूप उक्त रकम कोषमा जम्मा गरेको हो।
संस्थाका तर्फबाट डा. तामाङले असोज १२ गते हिमालयन बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ३ लाख रुपैयाँ जम्मा गरिएको जानकारी दिएका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि राज्यलाई सहयोग आवश्यक रहेको भन्दै डा. तामाङले राष्ट्रिय विपत्तिको यस घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
GFN ले राहत वितरणसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्