प्याब्सनद्वारा बाढीपीडित विद्यालय सञ्चालक, शिक्षक र कर्मचारीलाई ७३ लाख ५५ हजार रुपैयाँ राहत प्रदान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २७, मंगलवार १६:३९

नुवाकोट — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित विद्यालय सञ्चालक, गुठियार, शिक्षक तथा कर्मचारी र दुई विद्यालयलाइ ७३ लाख ५५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

प्याब्सनले बाढीका कारण मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवार र घरबारविहीन भएका २५ जना विद्यालय सञ्चालक तथा गुठियारलाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो। त्यसैगरी, बाढीबाट प्रभावित ५८ जना शिक्षक तथा कर्मचारीलाई प्रतिव्यक्ति ६० हजार रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराइएको छ।

उक्त राहत कार्यमा सहयोग तथा सहजीकरण गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष, विपद् व्यवस्थापन समिति, प्रदेश तथा जिल्ला समितिहरू र देशभरका प्याब्सनकर्मीप्रति प्याब्सनले हार्दिक आभार व्यक्त गरेको छ।

साथै पूर्णरूपमा क्षति भएका विद्यालयहरु उत्तरगया पब्लिक इङ्गलिस स्कुल र त्रिशूली सामुदायिक बाेर्डिङ स्कुललाई समेत १०/१० लाख उपलब्ध गराएकाे छ ।

यस्तै प्याब्सन नुवाकोटले बाढीबाट पूर्ण रूपमा क्षति भएका विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिन विशेष पहल गरेको छ। बेत्रावतीस्थित उत्तरगया पब्लिक इङ्गलिस स्कुल, मोर्डन ट्रिनिटी तथा रामचन्द्र आधारभूत विद्यालयलगायतका विद्यालयका करिब २०० जना विद्यार्थीलाई पाठ्यपुस्तक, स्टेशनरी, विद्यालय पोसाकलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ।

बाढीका कारण विद्यालय भवन तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि प्रभावित विद्यार्थीको शिक्षामा पर्न सक्ने असर न्यूनीकरण गर्न प्याब्सन नुवाकोटले यस्तो सहयोग गरेको हो। यस पहलले विपद्बाट प्रभावित विद्यार्थीलाई पुनः अध्ययनमा जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *