त्रिशूली–ढुंगे जोड्ने झोलुङ्गे पुल आजदेखि सञ्चालनमा, बाढीपछि टुटेको सम्पर्क पुनःस्थापित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २८, बुधबार १७:४९

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीले त्रिशूली बजारको पुल, सडक तथा ढुंगे बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि टुटेको आवागमन आजदेखि पुनः सहज हुने भएको छ। त्रिशूली र ढुंगे जोड्ने झोलुङ्गे पुल बुधबार साँझ ५ बजेदेखि सञ्चालनमा आएकाे नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिएका छन्।

निर्माण व्यवसायी महासंघको सहयोग तथा प्राविधिक विज्ञहरूको सुझावअनुसार निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै बाढीका कारण लामो समयदेखि प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई आवतजावतमा राहत मिल्ने अपेक्षा गरिएको छ।

करिब २० जनाको टोलीको अथक मेहनतका कारण पुल निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको अध्यक्ष प्याकुरेलले बताए। उनले पुल निर्माणमा खटिएका निर्माण टोली, फिटर टोली तथा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति र समूहप्रति आभार व्यक्त गरेका छन्।

विजयादशमी २०८३ को अवसरमा पुल सञ्चालनमा ल्याउन पाउँदा खुसी व्यक्त गर्दै उनले पुलमा यात्रा गर्दा हल्लाउने, उफ्रिने तथा अन्य असुरक्षित गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। पुलको सुरक्षित प्रयोग गरी आवतजावत गर्न निर्माण पक्षले अनुरोध गरेको छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार, असोज ३० गते पुलको उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ। पुल निर्माणमा भएको खर्चको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजारको पुल तथा सडकमा क्षति पुर्‍याउनुका साथै ढुंगे बजार क्षेत्रलाई समेत प्रभावित बनाएको थियो। त्यसपछिको अवस्था निकै कठिन बनेको थियो। सर्वसाधारणले जोखिमपूर्ण परिस्थितिमा आवतजावत गर्नुपरेको थियो।

बाढीपछि केही दिनपछि जिल्ला पूर्वाधार कार्यालय, स्थानीयवासी तथा निर्माण व्यवसायीहरूको पहलमा शुभघाटमा तुइन तथा जिपलाइनको सहायताबाट नदी वारपार गर्ने व्यवस्था मिलाइएको थियो। अहिले झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आउन लागेसँगै बाढीका कारण विच्छेद भएको सम्पर्क पुनःस्थापित हुने भएको छ।

पुल सञ्चालनमा आउन लागेपछि स्थानीयवासी तथा सर्वसाधारणले खुसी व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *